नेकपा एमाले बागमती प्रदेश संसदीय दलभित्र नेतृत्व परिवर्तनको खेल उत्कर्षमा पुगेको छ ।
संसदीय दलका नेता जगन्नाथ थपलियाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बहुसङ्ख्यक सांसदले नयाँ नेता चयनका लागि हस्ताक्षर सङ्कलन गरेका छन् ।
दलको नेता परिवर्तनका लागि १९ जना सांसदले हस्ताक्षर गरिसकेका छन् ।
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलभित्र नेतृत्व परिवर्तनको खेल उत्कर्षमा पुगेको छ । संसदीय दलका नेता जगन्नाथ थपलियाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बहुसङ्ख्यक सांसदले नयाँ नेता चयनका लागि हस्ताक्षर सङ्कलन गरेका छन् ।
साउन ९ गते भएको नेकपा र एमालेबिचको सहमति अनुसार बागमती सरकारको नेतृत्व एमालेले लिनेछ । उक्त सहमतिसँगै एमालेभित्र संसदीय दलको नेताबारे विवाद थप चुलिएको थियो ।
संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने परम्परा रहेकाले एमाले–नेकपाबिचको सहमति अनुसार थपलिया मुख्यमन्त्रीका मुख्य दाबेदार बनेका थिए । यद्यपि पार्टीभित्र मुख्यमन्त्रीका लागि अन्यले पनि दाबी गरेका छन् । सोही अनुसार अहिले दलको नेता फेर्ने कसरत भएको हो ।
संसदीय दलका नेता थपलियालाई एमाले सचिव महेश बस्नेतका विश्वास पात्र किरण थापा मगर र ईश्वर पोखरेल टिमका केशव प्रसाद पोखरेलले मुख्यमन्त्रीमा चुनौती दिँदै आएका छन् । वाम गठबन्धन बन्ने निश्चित भएदेखि नै एमालेभित्र मुख्यमन्त्रीका लागि होड चलेको थियो । यस विषयमा काठमाडौँमा विभिन्न चरणमा छलफल हुँदै आएको थियो । यद्यपि कुनै निष्कर्ष नआएपछि सचिव बस्नेत पक्षले हस्ताक्षर अभियान नै चलाएका थिए ।
बिहीबारमात्र पनि दलको नेताबारे एमालेका शीर्ष तहका नेताहरूबिच छलफल भएको थियो । छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि शुक्रबार बिहान सचिव बस्नेत पक्षले छुट्टै भेला आयोजना गरी हस्ताक्षर सङ्कलन गरेको एमालेका एक सांसदले बताए ।
ती सांसदका अनुसार दलको नेता परिवर्तनका लागि १९ जना सांसदले हस्ताक्षर गरिसकेका छन् । प्रदेश सभामा एमालेका २५ सांसद छन् । बस्नेत पक्षका थापा मगरलाई नेता बनाउन माग गर्दै १९ जनाले हस्ताक्षर गरिसकेको ती सांसदले जानकारी दिए । उपसभामुख अप्सरा चापागाईले पदीय मर्यादाका कारण हस्ताक्षर नगरे पनि संसदीय दलको नेता फेर्ने अभियानलाई समर्थन जनाएकी ती सांसदको दाबी छ ।











कनका खबर । २०८३ साउन १६