सभामुख डोलप्रसाद अर्याल (डीपी)ले प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गरेका छन् ।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको अवस्थामा उनले प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गरेका हुन् ।
उक्त बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन जिल्लामा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ । यसबारे विशेष सम्बोधन गर्दै सभामुख अर्यालले महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् ।
‘विपद्बाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु’, सभामुख अर्यालले भने ।
सभामुख अर्यालले विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका स्मरण गरेका छन् ।
‘जलवायू परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ,’ उनले भने, ‘हिमपहिरोको जोखिम बढिरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन् ।’ रसुवामा गएका वर्षमा समेत साना–ठूला विपद्का घटना भई नै रहेको सभामुख अर्यालले स्मरण गरे ।
सभामुख अर्यालले जलवायू परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौती सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गराउनु आवश्यक रहेको बताए ।
‘त्यसैले जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘यसतर्फ पनि म नेपाल सरकारको ध्यान आकृष्ट गराउँदछु । ’
रसुवा विपद्ले हामीलाई अर्को महत्वपूर्ण पाठ पनि सिकाएको उनले भनेका छन् । ‘हामीले अब विपद्पछिको व्यवस्थापन मात्र होइन, पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्दछ’ उनले भनेका छन्, ‘हिमताल र हिमनदीको नियमित अध्ययन र अनुगमन लाई प्राथमिकता राख्नु पर्दछ ।’











कनका खबर । २०८३ भाद्र १७