कार्यक्रममा बोल्ने वक्ताहरूले जुम्लामा मानविकी संकायको विस्तार वर्तमान समयको आवश्यकता भएको औंल्याउँदै यसका लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिए। कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति (जिसस) जुम्लाका प्रमुख गौरिनन्द आचार्यले जुम्लाको समग्र शैक्षिक विकासका लागि मानविकी तथा सामाजिकशास्त्र संकायको विस्तार अपरिहार्य रहेको बताए।
उनले स्थानीय तहमा प्राविधिक शिक्षाका साथै समाज, संस्कृति र अर्थतन्त्र बुझाउने मानविकी संकायको पनि उत्तिकै महत्त्व हुने उल्लेख गर्दै यसको स्थापना र दीगो सञ्चालनका लागि जिल्ला समन्वय समितिले आवश्यक समन्वय र सहयोग गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे।
अन्तरक्रियामा विशिष्ट अतिथिका रूपमा उपस्थित त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकायका सहायक डिन डा. वामदेव अधिकारीले जुम्ला बहुमुखी क्याम्पसको शैक्षिक सुधार र संकाय विस्तारका लागि केन्द्रबाट आवश्यक सबै कानुनी तथा प्रशासनिक प्रक्रियामा सहयोग गर्ने आश्वासन दिए।
उनले विकट क्षेत्रका विद्यार्थीहरूले आफ्नै घरआँगनमा गुणस्तरीय उच्च शिक्षा पाउन सकून् भन्ने उद्देश्यले त्रिविले संकाय विस्तारलाई प्राथमिकता दिने स्पष्ट पारे।त्यस्तै, कार्यक्रमका अर्का अतिथि एवं अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख तथा विद्या परिषदका सदस्य प्रा. डा. रामप्रसाद ज्ञवालीले आधुनिक युगमा मानविकी र सामाजिकशास्त्र संकायको सान्दर्भिकता झन् बढेर गएको विचार व्यक्त गरे।
उनले स्थानीय स्रोत, साधन र सम्भावनाहरूको व्यावहारिक अध्ययनका लागि यो संकाय कोसेढुङ्गा सावित हुने भन्दै बजारको मागअनुसारका नयाँ र व्यावहारिक पाठ्यक्रमहरू समेटेर संकाय विस्तार गरिनुपर्ने सुझाव दिए।
कार्यक्रमको समापन गर्दै जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले अन्तरक्रियाबाट प्राप्त अमूल्य सुझावहरूलाई आत्मसाथ गर्दै संकाय विस्तारको प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाउने दृढता व्यक्त गरे।
उनले क्याम्पसको भौतिक तथा शैक्षिक पूर्वाधारलाई सुदृढ बनाउँदै नयाँ संकाय सञ्चालनका लागि सरोकारवालाहरूबाट प्राप्त प्रतिबद्धताले थप उर्जा मिलेको बताउँदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रममा स्थानीय बुद्धिजीवी, पत्रकार र विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो।










कनका खबर । २०८३ जेष्ठ १३