सुनसरी घटनालाई लिएर राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको खोजी भएको छ । तराई मधेशमा साम्प्रदायिक तनाव रहेका बेला सरकारले जनतालाई आश्वास्त पार्नुपर्ने भन्दै सांसदहरूले घटना के कसरी भएको हो त्यसबारे गृहमन्त्रीले संसद्लाई जानकारी गसराउनुपर्ने माग राखेका हुन् । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सुनसरीदेखि अन्यत्र समेत गोली चल्ने अवस्था सिर्जना भएको बताए । उनले भने, ‘गृहमन्त्रीले सदन चलेपछि आएर घटनाका बारेमा नेपाली जनतालाई केही जानकारी दिनुहोला भन्ने विश्वास गरेका थियौं ।’ तर, गृहमन्त्री संसद्मा पाउन नसकेको बताए । सुनसरीमा गएर गृहमन्त्री आफैँ सहमतिका निम्ति लागेको अनौपचारिक जानकारी प्राप्त भएको बताए । साथै, प्रधानमन्त्री बालेन्द्र शाहले यो विषयमा सम्बोधन गरेको विषय पनि स्मरण गरे । चार दिन सम्म सरकार कहाँ थियो भन्दै उनले प्रधानमन्त्रीको सम्बोधनलाई पनि झारा टार्ने खालको सम्बोधनको संज्ञा दिए । प्रतिनिधिसभामा महिनौंदेखि खोजिँदा समेत प्रधानमन्त्री अनुपस्थित रहेको पनि उनले स्मरण गरे । नेपाली कम्युनिस्ट पार्टीकी सांसद जयन्तीदेवी राईले प्रधानमन्त्रीले सर्वपक्षीय संवादमा ध्यान दिनुपर्ने आग्रह गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री किन अनुपस्थित भएको भनेर पनि प्रश्न गरिन् । सुनसरी घटनाको समग्र विषयमा जवाफका लागि प्रधानमन्त्रीलाई राष्ट्रिय सभामा उपस्थित हुनका निम्ति राष्ट्रिय सभाका अध्यक्षबाट रुलिङ हुनुपर्ने माग राखिन् ।
राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको खोजी











कनका खबर । २०८३ साउन १५