गृहमन्त्री सुधन गुरुङको शैलीबाट स्वयं रास्वपा नेताहरू दिक्दार देखिएका छन् । जेन–जी विद्रोह भएको एक वर्ष पुगेको अवसरमा जेन–जी सहिद कल्याणकारी समाजले भदौ २३ (हिजो) राखेको कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री गुरुङ शैलीप्रति रास्वपा चिन्ता, चासो सहित प्रश्न उठाएका छन् ।
विवादित धर्मगुरुहरूलाई मञ्चमा राखेर गृहमन्त्री गुरुङले अन्य दल, पत्रकार लगायतलाई दुत्कारेका थिए । आफ्ना समर्थकहरूको तालीबाट हौसिँदै गृहमन्त्री गुरुङले अरु दललाई राजनीति सिकाउने चुनौती दिए ।
गृहमन्त्री गुरुङको मंगलबारको शैली पार्टीले दिँदै आएको प्रशिक्षण विपरीत थियो । साथै, पार्टी सभापति रवि लामिछानेले बैठक र सार्वजनिक कार्यक्रममा पार्टी नेताहरूलाई अहंकार नदेखाउन गरिएको आग्रहको विपरीत गृहमन्त्री गुरुङको बोली थियो ।
अनुभवी पुस्तालाई सम्मान प्रदान गर्न नसकिएको महशुस भइरहेको सभापति लामिछानेले अन्तर्राष्ट्रिय युवा दिवसका दिनमा बताएका थिए ।
पार्टीदेखि सरकारमा युवा पुस्ताको वर्चश्व रहेको बेला सभापति लामिछानेले पाको उमेर समूहका पुस्तालाई अपहेलित नगर्न पार्टी पङ्तिलाई भनिरहेका हुन्छन् । ‘पाका भएका मानिसहरुलाई सम्भवतः अपमानित पनि गर्यौं । सम्भवतः हामीले अपहेलित पनि गर्यौं । अनुभवी पुस्तालाई हामीले सम्मान दिन सकेनौं कि भनेर म आज महशुस गर्नसक्छु,’ विगतको व्यवहारप्रति आत्माआलोचित हुँदै लामिछानेले अन्तराष्ट्रिय युवा दिवसको कार्यक्रममा भनेका थिए,‘तर अब हामीले कसलाई दोष लगाउने होला ? हामीले कसलाई भन्ने होला ? अपमान र अपहेलित त गर्न पाइँदैन । हामी गर्दैनौं पनि ।’











कनका खबर । २०८३ भाद्र २४