पातारासीमा चालू आ.व २०८२/०८३ काे एक वर्षमै २१७ योजना सम्पन्न

जुम्लाको पातारासी गाउँपालिकाले विकास निर्माण र सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको दाबी गरेको छ । भौगोलिक विकटता, सीमित स्रोतसाधन, कठिन सडक तथा यातायात पहुँच र विभिन्न प्रशासनिक चुनौतीका बीच गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा संघ, प्रदेश र गाउँपालिकाबाट सञ्चालित गरी २ सय १७ वटा योजना तथा कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
पालिकाले सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत गरिएको भौतिक तथा वित्तीय प्रगति विवरणले यस्तो प्रगति देखाएको हो । नागरिकका बीचमा पालिकाले वर्षभरि गरेका काम, खर्च भएको बजेट, योजनाको अवस्था र आगामी दिनका प्राथमिकताबारे जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्षमा पातारासी गाउँपालिकामा संघ, प्रदेश र गाउँपालिका सहित विभिन्न स्रोतबाट गरी २ सय २६ वटा योजना तथा कार्यक्रम सञ्चालनमा थिए । तीमध्ये २ सय १७ वटा योजना सम्पन्न भएका छन् ।
यसलाई प्रतिशतमा हेर्दा कुल योजनाको ९६ दशमलव १ प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
विकासका योजना कागजमा मात्र सीमित हुने, बजेट विनियोजन भए पनि समयमा काम नहुने र आर्थिक वर्षको अन्तिममा हतारहतार खर्च गर्ने प्रवृत्तिबीच पातारासीमा ९६ प्रतिशतभन्दा बढी योजना सम्पन्न भएको तथ्यलाई पालिकाले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
यद्यपि योजना सम्पन्नताको दर उच्च भए पनि वित्तीय खर्च भने अपेक्षाकृत कम देखिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेम शर्मा चापागाईंका अनुसार आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाका लागि विभिन्न शीर्षकमा गरी ४५ करोड ६३ लाख ९३ हजार ९ सय ५८ रुपैयाँ ८९ पैसा बजेट विनियोजन भएको थियो ।
त्यस बाट ३३ करोड ८४ लाख ७८ हजार ६ सय ८१ रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ७४ दशमलव १६ प्रतिशत हो । पालिकाले चालु तथा पुँजीगत दुवै क्षेत्रमा बजेट परिचालन गरेको थियो ।
चालु खर्च तर्फ ३० करोड ९० लाख ६५ हजार ५ सय २० रुपैयाँ विनियोजन भएकोमा २३ करोड ६८ लाख ८४ हजार ४ सय ६१ रुपैयाँ ८० पैसा खर्च भएको छ । चालु खर्चको प्रगति ७६ दशमलव ६५ प्रतिशत रहेको प्रमुख प्रशासकीय अधिकृत चापागाईंले जानकारी दिए ।
त्यस्तै, पुँजीगततर्फ १४ करोड ७३ लाख २८ हजार ४ सय ३८ रुपैयाँ ८९ पैसा बजेट विनियोजन भएकोमा १० करोड १५ लाख ९४ हजार २ सय २० रुपैयाँ खर्च भएको छ । पुँजीगत बजेटको खर्च प्रगति ६८ दशमलव ९५ प्रतिशत रहेको छ ।
योजनाको भौतिक प्रगति र वित्तीय प्रगति बीच देखिएको अन्तरले भने विकास निर्माणमा एउटा महत्वपूर्ण प्रश्न उठाएको छ । योजना सम्पन्न भएको भनिए पनि विनियोजित बजेटको पूर्ण उपयोग किन हुन सकेन ? पालिकाका लागि आगामी दिनमा यो विषय सुधार गर्नुपर्ने प्रमुख क्षेत्रका रूपमा देखिएको छ ।
हिमाली भूगोल, वर्षायाममा सडक तथा यातायातमा आउने समस्या, निर्माण सामग्री ढुवानीको कठिनाइ, मौसमका कारण काम गर्ने समय सीमित हुनुजस्ता चुनौती यहाँका विकास निर्माणका स्थायी समस्या हुन् । यस्तो अवस्थामा एक आर्थिक वर्षभित्र २ सय १७ योजना सम्पन्न गर्नु सामान्य उपलब्धि नभएको पालिकाको दाबी छ ।
संघीय सरकारबाट सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आएका ७ वटा योजनामध्ये सबै ७ वटै योजना सम्पन्न भएका छन् । त्यस्तै, प्रदेश सरकारबाट आएको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका ७ वटै योजना पनि सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी समपूरक अनुदान अन्तर्गत आएका दुईवटै योजना पनि सम्पन्न भएका छन् । यसले रोजगारी सिर्जना, स्थानीय पूर्वाधार निर्माण तथा नागरिकको दैनिक जीवनसँग जोडिएका योजनामा पालिकाले कार्यान्वयनलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत चापागाईंले बताए ।
सार्वजनिक सुनुवाइमा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकबीच विकास निर्माणका उपलब्धि र कमजोरीबारे समेत छलफल भएको थियो । सार्वजनिक सुनुवाइलाई पालिकाले आफूले गरेका कामको जानकारी दिने मात्र नभई नागरिकबाट प्रत्यक्ष सुझाव, प्रश्न र आलोचना सुन्ने माध्यमका रूपमा लिएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले पालिकाले वर्षभरि गरेका गतिविधि र खर्चको विवरण नागरिकमाझ सार्वजनिक गर्नु आफ्नो दायित्व भएको बताए । सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने भन्दै उनले नागरिकले आफ्नो स्थानीय सरकारबाट भएका कामबारे जानकारी पाउने अधिकार रहेको बताए ।
अध्यक्ष बोहोराले पातारासीमा विकास निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि पालिका प्रतिबद्ध रहेको बताए । विशेषगरी लुम पुलसँग जोडिएको विवादका कारण केही काममा ढिलाइ भएको उल्लेख गर्दै उनले सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर पुलको समस्या समाधान गरी काम सम्पन्न गर्ने दिशामा पालिका अघि बढ्ने बताए ।
उनका अनुसार विकास निर्माणका काममा स्थानीय तह एक्लैले सबै समस्या समाधान गर्न नसक्ने भएकाले संघ, प्रदेश, सम्बन्धित कार्यालय तथा स्थानीय नागरिकसँग सहकार्य आवश्यक छ । विकासका योजनालाई समयमै सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
यस्तै गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले पालिकाबाट भइरहेका गतिविधि नागरिकमैत्री बनाउन आफूहरू प्रतिबद्ध रहेको बताइन् । स्थानीय सरकार नागरिकको घरदैलोमा पुग्नुपर्ने र नागरिकले पनि आफ्ना समस्या तथा गुनासा प्रत्यक्ष रूपमा जनप्रतिनिधिसमक्ष राख्नुपर्ने उनको भनाइ थियो ।
उनले गाउँपालिकाका गतिविधिबारे चिया चौतारामा मात्र चर्चा गरेर समस्या समाधान नहुने भन्दै सार्वजनिक सुनुवाइजस्ता औपचारिक कार्यक्रममा सहभागी भएर प्रश्न, सुझाव र गुनासा राख्न नागरिकलाई आग्रह गरिन् ।
पालिकाका बारेमा चिया चौतारामा मात्र कुरा गरेर हुँदैन । यस्ता सार्वजनिक कार्यक्रममा आएर पालिकाले गरेका काम, कमजोरी र आगामी योजनाबारे प्रत्यक्ष रूपमा कुरा गर्नुपर्छ,” उपाध्यक्ष रोकायाले भनिन् ।
पातारासीमा सम्पन्न भएका २ सय १७ योजनाको संख्या हेर्दा पालिकाको भौतिक प्रगति उत्साहजनक देखिन्छ । तर विकासको वास्तविक मूल्यांकन योजना कति सम्पन्न भए भन्ने संख्याले मात्र हुँदैन । ती योजना नागरिकको जीवनमा कति परिवर्तन ल्याउन सफल भए, निर्माण भएका संरचना कति गुणस्तरीय छन्, बजेट कति प्रभावकारी रूपमा खर्च भयो र नागरिकले त्यसबाट कस्तो लाभ पाए भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
एक वर्षमा २ सय २६ मध्ये २ सय १७ योजना सम्पन्न हुनु सकारात्मक पक्ष भए पनि अझै ९ वटा योजना सम्पन्न हुन बाँकी छन् । बाँकी योजनाको अवस्था, ढिलाइका कारण र आगामी समयमा तिनलाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा पालिकाले स्पष्ट कार्ययोजना बनाउनुपर्ने देखिन्छ ।
त्यस्तै, कुल बजेटको ७४ दशमलव १६ प्रतिशत मात्र खर्च हुनु र पुँजीगत बजेटको खर्च ६८ दशमलव ९५ प्रतिशतमा सीमित रहनुले बजेट कार्यान्वयनमा सुधारको आवश्यकता देखाएको छ । विकासका लागि बजेट विनियोजन मात्र पर्याप्त हुँदैन ।

प्रकाशित मितिः   २०८३ साउन २६ at 3:46 pm 

  • कमेन्ट (Comment)