रोडमा जुत्ता सिउने भद्रबहादुरका कथा र व्यथाहरु

जीवनमा अनेकौं बाधा झमेलाहरु आइरहन्छ सायद यो जीवनको एक चलिरहने प्रक्रिया नै होला। हाँसो, खुसी, रोदन आदि इत्यादि जीवनमा आइरहेका खुट्किलाहरु हुन्। हामीले दुनियाँमा अनेक किसिम मानिसहरु देख्छौं ती मध्ये कोहि मानिसहरूले आफू बाँच्नकै निम्ति अनेकौं कष्ट गरिरहेका हुन्छ। कोहि मानिसहरू सुख सयल हुर्केका हुन्छन् त कोहि दु:खको पिँजडा भित्र फसिरहेका हुन्छन्। विडम्बना भुइँमान्छेका कथा व्यथा निकै कम मात्रामा लेखिन्छन् सुनिन्छन्। सडकमा आफ्नो बालापन बिताएका भद्रबहादुर सार्कीले गरेको संघर्षलाई आज हामी तपाईंहरुमाझ देखाउँदैछौं।

नाम: भद्रबहादुर, थर: सार्की पुर्ख्यौली घर: अछाम। हाल बिरेन्द्रनगर नगरपालिका दुई (२) जयपुर बस्दै आएका छन् उनी। मान्छेका जीवनमा अनेकौं उतारचढाव आउँछन् त्यो स्वभाविक नै हो। तर भद्रबहादुरको जीवनमा यस्तो उतारचढाव आयो कि उनी अहिले ती भोगाइ सुनाउन थाले भने आँखाबाट शीतका थोपा झै आँसु झर्छन्। भद्रबहादुरले बिर्सेका छैनन् आफूले भोगेका ती भयानक संघर्षका पानाहरु।

भद्रबहादुरलाई आफ्नो नाम बाहेक अरु केही थाहा थिएन। उनलाई यतिमात्र थाहा थियो ‘म एक बाबा आमाबिनाको सन्तान हुँ।’ उनले सुर्खेतमै सडकका पेटीहरुमा आफ्ना दिनहरु बिताए। रातहरु बिताए। उनलाई बानी भैसकेको थियो। सडकमा हिँड्न र मागेर खान। उनको दैनिक नै थियो, सडकहरु र बजारको गल्लीगल्लीमा भौतारिदै हिँड्नु। त्यसपछि समय बित्दै गयो उनलाई सुर्खेतमै आफ्नो भोको भेट भर्न मुस्किल पर्‍यो। न त साथ दिने मान्छे छ न त बाटो देखाउने मान्छे नै छ थिए। उनको जीवनमा उनीसँग केवल उनी मात्रै थिए। साथमा बरु उनको साथमा अनेकौं पीडा, दु:ख, कष्ट, समस्याहरु प्रशस्तै थिए।

उनले सुर्खेतबाट नेपालगन्ज जाने सोच बनाए। उनीसँग न पैसा थियो न त खुट्टामा जुत्ता नै थियो। फाटो र मैलो लुगाको सहारामा हिँडेर उनी नेपालगन्ज पुगे। नेपालगन्ज पुग्नासाथ बर्दियाको एक मान्छेसँग भेटघाट भयो। त्यो मान्छे हुनेखाने नै रहेछन्। उनले भद्रबहादुरलाई सोधे तिमी के काम गर्न सक्छौं? उनले भने, ‘तिमी गाई चराउने काम गर्न सक्छौं भने हिँड जाउँ मेरो घर, बर्दिया।’ भद्रबहादुरले भने म, ‘स्यानो (सानो) बच्चा हडैभरी मैल (शरीरभरि) शरीरमा लगाएको कपडा गतिलो थिएन। त्यसपछि ती मान्छेले मलाई आफ्नो घर नजिकैको सानो कुवामा लगेर मेरो मैले शरीरलाई राम्रोसँग नुहाइधुहाइ गरिदिए।’

केही समयसम्म उनकै घरमा गाईवस्तु चराउने काम गरे। उनले भने ‘त्यसपछि मेरो मन फेरियो सधैं एउटै ठाउँ बस्ने मन लागेन। सायद। समयको खेला नै होला त्यो ठाउँबाट म भारतको हैदराबाद पुगेँ। त्यहाँ म तीन वर्षसम्म बसेँ। त्यहाँकै एक मालिकको घरमा काम गरेँ। कोही नेपाली त्यो ठाउँमा आउँदा निकै मन खुसी हुन्थ्यो। मेरो मालिकले बहादुर तेरा गावंवाले लोक आयगा। भनेर मलाई भन्थे। मलाई त्यतिबेला नेपाली देखेर साह्रै माया लाग्थ्यो।’

‘तीन वर्षको लामो बसाइँपछि म नेपाल आएँ। तर मैले केही कमाउन सकिरहेको थिइनँ। म रित्तो हात लिएर नेपाल फर्किएँ मेरो घर थिएन्। मसँग त म बाहेक अरु कोही नै थिएन। फेरि त्यस्तै आफू जस्तै सडकमा बस्ने साथीहरूको लहैलहैमा लागेर म फेरि भारतको मुंबई पुगे। त्यहाँ पुगेपछि केही दिन तिनै साथीहरूसँग बसे मुंबई काम गर्न होइन हामी भिख माग्न भनेर गएका थियौं। त्यसलगत्तै सबै साथीहरू हराए। म फेरि एक्लो भएँ। एउटा भारतीय आएर सोधे उनकै भाषामा का जाने? मैले बुझे नबुझे जस्तो गरेर नेपाल जान्छु भनेँ। भारतीय नागरिकले आफ्नो मोटरसाइकलमा हालेर केही अगाडि पुगेपछि एउटा बसमा हालेर नेपाल पठाइदियो। त्यो दिन मलाई भर्खर हिजो झैँ लाग्छ,’ भद्रबहादुरले भने।

उनका दु:खका दिन अझै सकिएका थिएनन्। दुईपटक भारत गएर नेपाल फर्किएका भद्रबहादुर बल्ल अब युवा अवस्थामा प्रवेश गर्दै थिए। नेपाल आइसकेपछि उनको दैनिकी पहिले जस्तै गरेर सडकमै वरपर गर्दै बित्यो। अब उनमा एउटा सोच पलायो, फेरि भारत जाने र पैसा कमाउने। त्यसपश्चात उनी भारतको अल्लमोडां पुगे। अझैसम्म पनि उनी सानो सानो नै थिएँ। जुम्लाबाट गएका र त्यहाँ ठेकेदारको रुपमा काम गर्दै गएका मान्छेसँग भद्रबहादुरको भेट भयो। उक्त ठेकेदारकै पल्लीदारी (कामदार) को रुपमा काम गर्न थाले। त्यतिबेला दुईचार रुपैयाँमै काम गरे उनले।

भारतमा केही समय बिताएपछि भद्रबहादुर घर नेपाल फर्केर खोजी गर्न थाले आफ्नो घर। उनको घर पत्ता लाग्यो उनी जन्मेको अछाम जिल्लामा रहेछ। उनले बाबा आमालाई त कहिले देख्न पाएनन्। उनलाई यत्तिसम्म पनि अवगत छैन कसले ल्याएर सुर्खेतको सडकमा बेवारिसे रुपमा छाडेको थियो? उनले घर त पत्ता लगाए तर घरमा केही थिएन सबै रित्तिसकेको थियो। भद्रबहादुरका दाइ भने थिए। उनले नै भद्रबहादुरको नागरिकता बनाइदिए। भद्रबहादुरले एउटा नयाँ जीवन पाएको जस्तो महसुस गरे। वर्षौंपछि उनलाई आफ्नो मान्छे भएको आभास भयो।

घरमा गरेर खाने त्यस्तो वातावरण नै थिएन। त्यसपछि उनी सुर्खेत झरे। दैलेखकी पत्मा सार्कीसँग भेट भयो र विवाह पनि भयो। उनलाई जिम्मेवारीले बाँध्यो। सुर्खेतमै बसेर केही गर्ने सोच राखे। उनी सडकमै हुर्केको कारण होला सायद उनले आफ्नो नयाँ जीवनको सुरुवात पनि सडकमै जुत्ता सिलाएर गर्ने साहस गरे। सुर्खेतको मंगलगडी चोकमा बसेर जुत्ता सिलाउन थाले। त्यसपछि उनका दिनहरू पहिला भन्दा निकै फरक तरिकाले बित्न थाले। आफ्नै कर्ममा रमाउन थालेला भद्रबहादुरको घर व्यवहार पनि राम्रै चल्यो।

उनीबाट अहिले पाँच सन्तान छन्। एउटा छोरा र चारवटी छोरी ती मध्ये तीनवटीको विवाह भैसकेको छ भने कान्छी छोरी र छोरा पढ्दै छन्। उनी भन्छन् ‘अहिले आएर सबै ठिकै छ। छोराछोरी छन् छोरा पढ्छ छोरी पढ्छिन् तिनवटी छोरीले विवाह गरेर गैसकिन। अहिले सबै कुरा राम्रै छ।’

‘आफूले पाएको जस्तो दु:ख मैले छोराछोरीलाई भोग्न दिएको छैन अहिले त जमानामा पनि फेरियो। मेरा ती दिनहरू सम्झेको बेला साह्रै उराठ लागेर आउँछ।तर अहिले म सन्तुष्ट छु,’ उनले भने।

उनी जुत्ता सिलाएरै महिनाको १५/ २० हजार आम्दानी गर्छन्। पहिलेका दु:खका दिन अहिले गएका छन्। आफूले पाएको जस्तो दु:ख छोराछोरी नपाउन भनेर धेरै दु:ख गरे। अहिले छोराले राम्रो पढेको देखेर भद्रबहादुर खुसीले गदगद छन्। समाजका सबै मानिसले त्यस्तो दु:ख पाएको मान्छेको आज दुखका दिन गए भनेर भन्ने गर्छन्।

‘आफ्नो छोरा राम्रो भएको देखेर गर्व महसुस हुन्छ। सबैले राम्रो भन्छन्, त्यही कुरामा खुसी छु। अब मैले पाएको दु:ख छोराछोरी पाउने छैनन्। अहिले जमानामा फेरियो,’ उनी अनुहारमा धमिलो विगत सम्झिदै मुस्कुराउँछन्।

प्रकाशित मितिः   २०८१ बैशाख २८ at 4:47 am 

  • कमेन्ट (Comment)