महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण

काठमाडौं- महालक्ष्मी विकास बैंकले महोत्तरीमा आगलागीका कारण घरबारविहीन भएका १५० घर परिवारलाई राहत सामग्री वितरण गरेको छ।

बैंकले हालै महोत्तरीको मटिहानी नगरपालिका- ६ मा आगलागीका कारण घरबारविहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामग्री वितरण गरेको हो।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् २ लाख पचास हजार रूपैयाँ बराबरको ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगा धुने साबुन र १५० कार्टुन चाउचाउलगायतका खाद्यान सहयोग गरेको जनाएको छ।

वैशाख १० गते मटिहानी नगरपालिका वडा नं ६ मा लागेको उक्त आगोले १०० भन्दा बढी घर पूर्णरूपमा जलेर खरानी भएका छन् भने ५० जति अन्य घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ।

मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र बैंकको मधेस प्रादेशिक कार्यालयका प्रमुख सुदीप चन्द पोखरेलले जनकपुर शाखाका कर्मचारीहरूको सहभागितामा पीडित परिवारहरूलाई उक्त राहत सामाग्री हस्तान्तरण गरेका हुन्।

प्रकाशित मितिः   २०८१ बैशाख १९ at 6:19 am 

  • कमेन्ट (Comment)