पूर्व गाविस अध्यक्ष तिर्थराज भारतीको निधन, चन्दननाथ नगरपालिकामा सार्वजनिक बिदा घोषणा

 चन्दननाथ नगरपालिका–४ निवासी तथा साविक चन्दननाथ गाविसका पूर्व अध्यक्ष एवं समाजसेवी तिर्थराज भारतीको ८३ वर्षको उमेरमा असामयिक निधन भएको छ । स्वर्गीय भारतीको निधन २०८२ साउन ४ गते दिउँसो ३ बजे भएको पुष्टि गरिएको छ ।

उहाँको निधनले चन्दननाथ नगरपालिका क्षेत्र शोकमा डुबेको छ । सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका भारतीले आफ्नो जीवनकालमा जनसेवा, नेतृत्व र विकासका विभिन्न क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनले नगरपालिका मात्र नभई सम्पूर्ण जिल्लालाई ठूलो क्षति पुर्‍याएको जनाइएको छ ।

यस शोकपूर्ण घडीमा चन्दननाथ नगरपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै स्वर्गीय तिर्थराज भारतीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै नगरपालिका भित्रका सबै कार्यालय तथा निकायहरूमा २०८२ साउन ५ गते (सोमबार) का दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी नगरपालिकाले दिएको छ ।

नगरपालिकाका अनुसार स्व. भारतीको योगदानको सम्मानस्वरूप एक दिने सार्वजनिक बिदा दिइएको हो । नगरबासी, कर्मचारी र सरोकारवालाहरुलाई यस सन्दर्भमा जानकारी गराउँदै नगरपालिका प्रशासनले सम्बन्धित सबैलाई सहकार्य र समवेदनाको भाव व्यक्त गर्न आग्रह गरेको छ ।

स्वर्गीय तिर्थराज भारतीप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रकाशित मितिः   २०८२ साउन ५ at 10:55 am 

  • कमेन्ट (Comment)