कर्णाली राजमार्ग दुई दिनदेखि अबरुद्ध: आवागमनमा समस्या

लगातारको वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्ग दुई दिनदेखि बन्द छ। वर्षाले विभिन्न ठाउँमा पहिरो आउन थालेपछि कर्णाली राजमार्ग अबरुद्ध भएको हो।

कर्णाली राजमार्ग भएर सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आवत जावत गर्ने सवारी साधनहरु अलपत्र परेका छन्। कर्णाली राजमार्ग अन्तरर्गत टिमुरे भिड, गाल्जे पिली, गगनेखोला, एसमोड, हुल्म बजार लगायतका ठाउँमा पहिरोले कर्णाली राजमार्ग शनिबारदेखि बन्द रहेको छ।

हुल्म बजार नजिक ठुला ठुला ढुंगा सहित पहिरो खसेपछि त्यस क्षेत्रमा आवतजावत पूर्ण रुपमा बन्द भएको हो। शनिवार साँझ सम्म पनि पहिरो पन्छाउन नसकेपछि हुल्म बजारमै यात्रु रोकिएका थिए भने केहि यात्रु कालिकोट सदरमुकाम मान्म फर्किएका थिए।

दुई दिन राजमार्ग अबरुद्ध भएपनि सवारी साधनहरु बीच सडकमै लाम लगाएर रोकिएका छन्।

सडक डिभिजन जुम्लाले पहिरो पन्छाउने कार्यलाई तिव्रता दिए पनि चाँडै सडक खुल्ने स्थिती छैन्।

सडक डिभिजन जुम्लाका अनुसार कार्यालयका सबै मेसिन सहित जनशक्ति पहिरो प्रभावित क्षेत्रमा खटिएपनि सबै ठाउँमा एकैसाथ अबरुद्ध खुलाउन सकिएको छैन।

निर्माण व्यवसायीहरुलाई सडक खुलाउन डोजर सहयोग गर्न समेत अपिल गरिएको छ। यदपी हरेक वर्ष बर्खाको समयमा यात्रामा सास्ती हुनेभएपछि सम्भावित क्षेत्र आपसाप डोजर तथा जनशक्ति तयारी अबस्थामा राख्नु पर्नेमा स्थानीय नागरिकको माग छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै कर्णालीका उच्च जोखिममा रहेका ६ जिल्ला जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालिकोट, हुम्ला र जुम्लालाई विपद पूर्वतयारीमा रहन आग्रह गरेको छ।

सडक डिभिजन कार्यालयका अनुसार कालीकोटको हुल्म बजार नजिक ठूल्ठुला बोल्डर आई पूर्ण रुपमा सडक अवरुद्ध भएको छ।

प्रकाशित मितिः   २०८१ असार २३ at 1:03 pm 

  • कमेन्ट (Comment)