स्याउ उत्पादनमा अब्बल जुम्लाका किसानले उत्पादन बिक्रीसँगै त्यसको प्रशोधनबाट आम्दानी बढाउने तयारी थालेका छन्। बजारमा काँचो स्याउ बिक्री गर्दा हुने जोखिम घटाउन किसानले स्याउबाट चाना, चिप्सलगायतका खाद्य सामग्री उत्पादन गर्ने सीप सिकेका हुन्।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपाल जुम्लाको आयोजनामा चारदिने फलफूल प्रशोधन तथा मूल्य अभिवृद्धि तालिम सञ्चालन गरिएको हाे । तालिममा किसान तथा उद्यमीलाई स्याउ प्रशोधनदेखि सुकाउने, गुणस्तर कायम गर्ने र प्याकेजिङ गर्ने तरिकाबारे प्रयोगात्मक अभ्यास गराइएको हाे ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रशिक्षक सुवास तिमिल्सिनाले सहभागीलाई स्याउ प्रशोधनमा प्रयोग हुने आधुनिक मेसिन सञ्चालन र उत्पादनको गुणस्तर कायम गर्ने विषयमा प्रशिक्षण दिएका थिए ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले स्याउको प्रशोधनबाट किसानले उत्पादनको उचित मूल्य प्राप्त गर्न सक्ने बताए। काँचो स्याउ मात्र बिक्री गर्दा बजार, ढुवानी तथा कुहिने समस्या हुने भएकाले स्थानीयस्तरमै प्रशोधन गरेर बजारमा लैजान सके किसानको आम्दानी बढ्ने उनको भनाइ छ।
तालिम सम्पन्न भएपछि सहभागीलाई उत्पादन सुरु गर्न आवश्यक उपकरण पनि प्रदान गरिएको छ। किर्डाक नेपालका कार्यक्रम संयोजक शिवचन्द्र कार्कीका अनुसार सहभागीलाई डिजिटल तराजु, स्याउ पिलर मेसिन, चिप्स कटर, प्लास्टिक सिलिङ मेसिन र प्याकेजिङ सामग्री वितरण गरिएको हो।
‘तालिमबाट सिकेको सीप व्यवहारमा प्रयोग होस् र किसानले गाउँमै उद्यम गर्न सकून् भन्ने उद्देश्यले उपकरण सहयोग गरिएको हो,’ कार्कीले भने।
तालिममा सहभागी लंकनाथ योगीले स्याउ प्रशोधनको सीपले आफूहरूमा नयाँ सम्भावना देखाएको बताए। पहिले बजार नपाएर स्याउ खेर जाने चिन्ता हुने गरेकोमा अब गाउँमै चाना र चिप्स उत्पादन गरेर बिक्री गर्न सकिने उनको भनाइ छ।
जुम्लामा उत्पादन हुने स्याउलाई स्थानीयस्तरमै प्रशोधन गरी आकर्षक प्याकेजिङ र ब्रान्डिङ गर्न सके बजार विस्तारको सम्भावना बढ्ने देखिएको छ। स्याउमा मूल्य अभिवृद्धिसँगै किसानलाई उत्पादनमै आधारित साना उद्यमतर्फ अघि बढाउन सकिए स्थानीय रोजगारी र ग्रामीण अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।
स्याउ प्रशोधन सिक्दै जुम्लाका किसान, बढ्दै उद्यमको सम्भावना











कनका खबर । २०८३ भाद्र १७