उद्धारकर्मीबाहेक मानिस छैनन् रसुवागढीमा

गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको छैटौं दिनसम्म पनि रसुवागढीको जनजीवन सामान्य हुन सकेको छैन । बाढीले सीमावर्ती क्षेत्रको ठूलो भूभाग तहसनहस बनाएपछि रसुवागढी, टिमुरे र स्याफ्रुवेँसी क्षेत्र अहिले लगभग मानिसविहीन अवस्थामा पुगेको छ ।
सोमवार हेलिकोप्टरबाट सो क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किंदा देखिएको दृश्यले बाढीको क्षति जमिनबाट अनुमान गरिएभन्दा निकै ठूलो रहेको देखाएको छ । नदी किनारका बस्ती, सडक, पुल, व्यापारिक संरचना र अन्य भौतिक पूर्वाधारमा बाढीले पु¥याएको क्षतिको वास्तविक विवरण अझै आउन सकेको छैन ।

आकाशबाट हेर्दा कतिपय स्थानमा बस्तीको ठाउँमा बगर देखिन्छ । सडक भएको ठाउँमा हिलो र ढुङ्गाको थुप्रो छ । पुल रहेका स्थानमा नदीको धार मात्रै देखिन्छ । कतिपय घर उभिएका छन् तर मानिस छैनन् । ढोकामा भोटेताल्चा झुन्डिएका छन् ।
बाढीबाट जीवित उद्धार गरिएकालाई सुरक्षा निकायले काठमाडौँलगायत सुरक्षित स्थानमा स्थानान्तरण गरेपछि सीमाक्षेत्रमा मानवीय चहलपहल अत्यन्त न्यून भएको छ ।
अहिले त्यहाँ हेलिकोप्टरको आवाज सुनिन्छ । त्यसबाहेक अधिकांश क्षेत्र अस्वाभाविक सन्नाटामा छ । रसुवागढीबाट बेत्रावतीसम्म भोटेकोशी र त्रिशूली नदी आसपासको भूगोलमा बाढीले पु¥याएको क्षति केवल घर र संरचनाको विनाशमा सीमित छैन । बाढीले राज्यको नियमित पहुँचका आधारहरू सडक, पुल, सञ्चार र आपूर्ति प्रणालीसमेत गम्भीर रूपमा प्रभावित बनाएको छ ।
नदी किनारका बस्तीहरू प्रत्यक्ष रूपमा बाढीको चपेटामा परेका छन् । तीमध्ये कतिपय बस्तीमा घर तथा संरचनाको नामोनिसानसमेत छैन । तर नदीभन्दा माथिल्लो क्षेत्रमा रहेका बस्तीहरूमा पनि सङ्कट बढ्दै गएको छ ।

प्रकाशित मितिः   २०८३ भाद्र १६ at 7:32 am 

  • कमेन्ट (Comment)