मुखियाका ॠणको साढेसाती टार्न मुगलान पसेका बुबा
थप दश ग्रहको व्यूहमा उतै फसेपछि
मेरी आमाले मुखिया कै करेसाबारी पैंचो लिई
बनाएकी थिइन् आफूलाई आमा
पछि दुई शरीर धान्नलाई
कुनै ठाउँ बाँकी छोडिनन् नंग्रा खियाउन
कुनै बाटो छोडिनन् खुट्टा बजार्न
उनकै गह्रौं जीउको प्रतिबिम्ब हो पृथ्वी
उनकै रगतको फाल्सा हुन् आकाशको रक्तिम घाम !
काँडाले फूललाई सुरक्षा दिँदै गर्दा
धेरैपटक चुक्छ ऊ
~चुँडिनबाट रोक्न फूललाई
~च्यात्नबाट रोक्न राक्षसी ओैंलालाई
त्यसरी नि असाहय थिइन् आमा
~कौमार्य बचाइदिन
~स्तन जोगाइदिन
~दुषित ओठको कैदबाट छुटाउन
र पनि मन्दिरको ईश्वरले बाटोमा ईश्वर नै खोजिरहेको बेला
कौमार्य गुमाएकी फूल त्यहाँ कन्याफूल भइदिन्छे
दुर्गन्धित स्पर्श पाएकी उ श्रद्धा भइदिन्छे
अनि फेर्छ काँडाले शान्तिको सास !
तर आज फेरि
क्षत-विक्षत भएको छ रूप
टोकिएको छ ओठ
निमोठिएका छन् स्तन
अनि अंगभंग भएकी छ फूल
काँडाको आँखाभरि छन् शितका थोपाहरू
बलात्कारीसँगै रहेर बयान दिनु परिरहेछ फूलले !
कलियुगका धर्मराजलाई पनि लक्ष्मीको संसर्ग मिलेछ क्यार
आफ्नो धर्म निभाउन यसै भुलिदिए
अनि नै त
मुखियाका छोरालाई सुनपानी छर्कियो
‘मेडिकल रिपोर्ट’लाई जाली बनाइयो
पूर्ण-वध नगरेर फूलको
अर्ध-वध भइरह्यो
भन्ने गर्छन्….
पैंचोको लेनदेन गर्दा औंलाले नापेर गरिन्छ रे
तर घडेरीको पैंचो वसूल्दा स्त्रीको शरीर नापिने यो कस्तो पैंचो हो?
सरला क्षेत्री । २०८१ जेष्ठ ५