
तातोपानी गाउँपालिका अन्तर्गतका दुई जना प्रभावशाली युवा नेता एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका लालबहादुर बिष्ट र मीनबहादुर शाहीले अबको यात्रालाई कांग्रेसमार्फत् अघि बढाउने घोषणा गरेका हुन्।
तातोपानी गाउँपालिका–६ निवासी लालबहादुर बिष्ट विगत १४ वर्षदेखि एमालेको इलाका सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए। पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, “नेपालमा परिवर्तन गर्नसक्ने पार्टी भनेकै नेपाली कांग्रेस हो। अब लोकतान्त्रिक विचारधाराका साथ कांग्रेसमार्फत् योगदान पुर्याउनेछु।” बिष्ट २०६४ सालदेखि एमालेको राजनीतिमा सक्रिय थिए।
त्यसैगरी, तातोपानी गाउँपालिका–२ निवासी मीनबहादुर शाही पनि ६४ साल देखि एमालेको शिक्षक संगठनमा आवद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए। उनले अबको बिशेष राजनीतिक जीवन कांग्रेसमै समर्पित रहने जनाउँदै मुलधारको लोकतान्त्रिक राजनीतिमा विश्वास रहेको स्पष्ट पारे।
उनीहरूले नेपाली कांग्रेसमा प्रवेश गर्दा नेपाली कांग्रेस जुम्लाका प्रवक्ता मेघराज गिरि, क्षेत्र नं. ‘क’ का क्षेत्रीय सचिव तिर्थराज न्यौपाने, नेपाली कांग्रेस नेता तथा तातोपानी गाउँपालिका–५ का वडाध्यक्ष छिरिङ महत, लोकतान्त्रिक खेलकुद संघ जुम्लाका उपाध्यक्ष रोशन श्रेष्ठ लगायतको रोहवरमा औपचारिक स्वागत गरिएका थिए।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेताहरूले नयाँ कार्यकर्ताको आगमनले पार्टी अझै सशक्त र जनस्तरमा सक्रिय हुने विश्वास व्यक्त गरे। क्षेत्रीय सचिव न्यौपानेले लोकतन्त्र, गणतन्त्र र समावेशीतामा विश्वास राख्ने सबैलाई कांग्रेस खुला रहेको बताए। उनले थपे, “स्वच्छ नीतिगत आधारमा काम गर्न चाहने जो कोहीलाई कांग्रेसले स्वागत गर्छ।”
तातोपानी क्षेत्रमा एमालेको बलियो संगठनात्मक उपस्थिति रहँदै आएको अवस्थामा दुई पुराना नेताको कांग्रेस प्रवेशलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। अबको स्थानीय राजनीति र आगामी निर्वाचनमा यसको प्रत्यक्ष प्रभाव पर्ने आकलन गरिँदैछ। कांग्रेसले तातोपानी क्षेत्रलाई संगठित बनाउन र स्थानीय विकासमा अग्रसर हुन थप नेताहरूलाई आकर्षित गर्ने संकेत दिएको छ।
यसरी बिष्ट र शाहीको कांग्रेस प्रवेशसँगै जुम्लाको स्थानीय राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ।











कनका खबर । २०८२ साउन १३