जुम्लामा ४१ वर्षीय पुरुष मृत अवस्थामा फेला

जुम्लामा ४१ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार भदौ ४ गते साँझ करिब ७ः२० बजे चन्दननाथ नगरपालिका–६ स्थित यान्त्रिक कार्यालय नजिकै जुम्ला–नाग्मा सडकखण्डबाट करिब ३ मिटर तल पातीको झाडीमा एक पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।
मृतक चन्दननाथ नगरपालिका–७, मिचाका ४१ वर्षीय रत्नचन्द्र रावल रहेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट घटनास्थल अनुसन्धानसम्बन्धी प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पठाएको जनाएको छ। मृतकले नियमित रूपमा मादक पदार्थ सेवन गर्ने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिए।

प्रकाशित मितिः   २०८३ भाद्र ४ at 10:23 pm 

  • कमेन्ट (Comment)