गोरखालीले ल्याब मागे, सुधन गुरुङले भोट फिर्ता लैजान भने

गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न गृहमन्त्री सुधन गुरुङसँग माग गरेका छन् । तर, मन्त्री गुरुङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरु ‘भोट फिर्ता’ लैजान भनेका छन् ।
गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङले मतदातासँग अन्तर्क्रिया गर्ने क्रममा सो अभिव्यक्ति दिएका हुन् ।

हरेक महिना गृहजिल्ला जाने पूर्वघोषित कार्यक्रम अनुसार उनले शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार शहीद लखन गाउँपालिकाका मतदातासँग भेटघाट गरेका थिए ।

आइतबार बेलुका गृहमन्त्री गुरुङ शहीद लखन गाउँपालिका वडा नम्बर ९ का मतदातासँगको भेटघाटमा थिए । सो भेटमा वडा नम्बर ९ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, रास्वपा वडा सचिव खोपेन्द्र लामिछाने लगायत पनि सहभागी थिए ।

रास्वपा वडा सचिव लामिछानेले चुनावका बेला गाउँ आउँदा ल्याबका लागि बजेट छुट्याउने बाचा गरेको गुरुङलाई सम्झाए । गुरुङले त्यसमा ‘हो’ भनेर सहमति पनि जनाए ।

तर वाचा अनुसार बजेट विनियोजन किन नभएको भन्दै प्रश्न गर्दा गृहमन्त्री गुरुङले चार महिनामै प्रतिफल खोज्न नहुने भन्दै बरु भोट फिर्ता लैजान भनेका हुन् ।

गृहमन्त्री गुरुङको यो अभिव्यक्तिको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।
कार्यक्रममा क्याप लगाएका एक व्यक्तिले ‘एउटा सानो कुरो’ भन्दै ल्याबको लागि बजेटबारे सोध्छन् । गृहमन्त्री गुरुङलाई चुनावी वाचा स्मरण गराउँदै उनी भन्छन्, ‘हजुरले यहाँ चुनावमा आउँदाखेरि बोलेर जानुभएको ल्याबका लागि बजेट खै ? हजुरले मन्त्रालयको सचिवलाईधरी फोन गर्नुभाथ्यो यहीँबाट । र, तपाईंहरू ढुक्क हुनुस् यो आउने बजेटमा म यहाँको अनुसार गर्दिन्छु भनेर बोलेर जानुभाथ्यो । खै त ? त्यो बजेटमा कहीँ पनि देखिँदैन ।’
अनि गृहमन्त्री गुरुङ ती प्रश्नकर्तालाई भन्छन्, ‘यति साना–साना बजेटहरू छ नि तपाईंको, यसरी किताबमा राख्ने हो भने त महाभारत र रामायण मिक्स गरेर पनि बन्दैन ।’
उनी फेरि थप्छन्– ‘त्यही भएर हामीले यहाँबाट लिस्ट मगाएका छौं । के राख्ने भन्ने कुरा त लिस्टमा चाहिन्छ होला नि ।’
अनि ती व्यक्तिले गृहमन्त्री सुधन गुरुङको छेउमा बसेका व्यक्तिलाई ‘तिमीले पठाएनौं लिस्ट ?’ भनी प्रश्न गर्छन् ।
उनले ‘पठाएको’ जानकारी पनि गराउँछन् ।
त्यसपछि छेउका अर्का एक व्यक्तिले ‘हिजो भर्खर’ मन्त्रालयका सचिवसँग यी विषयमा कुरा भएको भन्दै प्रश्नकर्तालाई सम्झाउने कोसिस गर्छन् ।
प्रश्नकर्ता व्यक्ति अझै आश्वस्त हुँदैनन् । उनी स्थानीयको दबाब गृहमन्त्रीलाई सुनाउँछन्, ‘यहाँ गाउँका मान्छेले मार्ने भइसके त ! हिजो बोलेर गाको हो सुधन गुरुङले, अहिले खै भन्छन् ।’
अनि गृहमन्त्री सुधन भन्छन्– ‘चार महिनामा अहिले बल्ल पहिलो बजेट हाम्रो आएको छ । …तपाईंलाई काम भए पुग्ने होइन त ? चार महिनामा त फेरि कायापलट गर्न म सक्दैन, भोट लिएर जानुस् ।’
गृहमन्त्रीको यो अभिव्यक्तिपछि सहभागीहरू हाँसेको देखिन्छ । अनि एक व्यक्ति भन्छन्– ‘जिताएर पठाइहालियो, यो कुरा पहिले भन्नुपर्थ्यो नि हजुरले ।’
गृहमन्त्री सुधन फेरि भन्छन्, ‘हैन मैले त भनेको । मत प्रष्ट मान्छे । मलाई तपाईंहरूले विश्वास गर्न सक्नुहुँदैन भने मलाई नजिताउनुस् । मलाई पाँच वर्ष हेर्नुस् । यति त आँट गरेको हो नि त ।’
गृहमन्त्री गुरुङ फेरि थप्छन्, ‘चार महिनामा बल्ल १५ दिन/२० दिन भइराछ । अहिले चाहियो भन्दैमा पाइन्छ ?’

प्रकाशित मितिः   २०८३ भाद्र १ at 10:00 am 

  • कमेन्ट (Comment)