नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत सल्यान जिल्ला पार्टी कार्यालयमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, प्रदेश सभा सदस्य लक्ष्मी सुनार, विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, जिल्ला कार्य समिति पदाधिकारी तथा सदस्यहरू, साथै भातृ र शुभेच्छुक संघसंस्थाका प्रमुखहरूको विशेष उपस्थितिमा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। यस बैठकमा सहभागी सबैले पार्टीको आगामी गतिविधिहरूको समीक्षा र विभिन्न विषयमा छलफल गर्दै केन्द्रीय निर्देशन अनुसार जिम्मेवारी बाँडफाँड गरी अभियानको औपचारिक शुभारम्भ गरेका छन्।
अभियानको प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवाललाई सल्यान जिल्लामा खटाएको छ। सेजुवालले नेतृत्व गरेको यो अभियानले जिल्ला स्तरमा पार्टीलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।
अभियान सुरु भएसँगै दोस्रो दिनमा खलंगा, श्रीनगर र छत्रेश्वरी क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरिएको छ। यस क्रममा स्थानीय नेताहरूले संगठनात्मक सुधारका उपाय, पार्टीको नीतिगत कार्यान्वयन र जनतासँगको सम्बन्ध सुदृढीकरणका विषयमा छलफल गरेका छन्। केन्द्रीय प्रतिनिधि कान्तिका सेजुवालले विभिन्न क्षेत्र भ्रमणको क्रममा पार्टी कार्यकर्ताहरूको उत्साहप्रति प्रसंशा व्यक्त गर्दै अभियानलाई जिल्लाका सबै तहमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन्।
यो विशेष अभियानले आगामी दिनहरूमा पार्टीलाई जनतासँग नजिक बनाउँदै संगठनात्मक विकासमा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाश उपाध्याय । २०८१ कार्तिक १०