जुम्लाको चन्दननाथ नगरपालिका -९ खल्लाचौर नजिकै तिला नदीको किनारमा बिहिवार बिहान ८:३० बजे एक अज्ञात पुरुषको शव फेला परेको छ।
उक्त शव फेला परेको ठाउँमा प्रहरीको टोली पुगेको छ। स्थानीय बासिन्दा दिपेन्द्र रावलले जिल्ला प्रहरी कार्यालय, जुम्लालाई टेलिफोनमार्फत उक्त घटनाको जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा ५ जनाको प्रहरी टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट फोरेन्सिक चिकित्सकसहितको टोली घटनास्थलमा खटिएको छ।
घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर पश्चिममा पर्दछ। प्रारम्भिक जानकारी अनुसार, शवलाई नदीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहीरीका अनुसार मृतकको नाम, ठेगाना र अन्य विवरण अझै खुल्न सकेको छैन। प्रहरीले शवको पहिचान र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ।
फोरेन्सिक टोलीले शवको पोस्टमार्टमसहित थप जाँच गर्ने तयारी गरेको छ। स्थानीय बासिन्दाले यस्ता घटनाले समुदायमा चिन्ता बढाएको बताएका छन्।
कनका खबर । २०८२ असार १२