जुम्लामा छालाका रोगको उपचार गर्ने रेडियो सर्जरी विधि सुरु

डा. हरिहर अधिकारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका छाला रोग विशेषज्ञ हुन। करिब १५ महिना अगाडि जुम्ला पुगेका उनले नियमित रुपमा छालाको रोगका बिरामीको उपचार गर्दै आएका छन्।

उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छालाका प्राय सबैजसो रोगको उपचार भइरहेको छ। प्रतिष्ठानमा भर्खरै भने छालाको दाग हटाउने रेडियो सर्जरी उपचार विधि सुरु भएको छ।

‘छालामा निस्किएका मुसा कोटी, लामो समयदेखि बसेको डन्डिफोरको दागलाई पनि हटाउन यो रेडियो सर्जरी उपचार विधि साह्रै राम्रो मानिन्छ,’ उनले भने, ‘दुई मेघाहर्जको फ्रिक्वीन्सी पठाएर उपचार गरिने हुनाले सजिलो र सरल पनि छ।’

दुई मेघाहर्जको फ्रिक्वीन्सीले छालाको पानीलाई वाफ बनाइदिन्छ। जसले छालामा आएको दाग, कोटि, मुसाहरुलाई सजिलै हटाउन सकिन्छ।

छलाका बाहिरि रुप सुधार्न अत्यन्तै लाभदायक मानिने उपचार पद्धति सस्तो हुनाले यसलाई पुअरम्यान लेजर विधि समेत भनिने डा. अधिकारीको भनाई छ।

रेडियो सर्जरी विथ लेजर विधि अनुसार छालामा कुनै अप्रेसन गर्नु नपर्ने डा. अधिकारीको भनाइ छ। उनले थपे, ‘बिरामीलाई खासै गाह्रो हुँदैन। यसका फाइदाहरु भनेको पेसेन्टलाई गाह्रो नहुने हुन्छ।’

दागहरु हटाउने र सुन्दरताका लागि यो विधि प्रयोग गर्दा केही समय लागे पनि छालाका अरु समस्याको उपचार निकै छोटोे सममा गर्न सकिने डा. अधिकारीको भनाई छ।

‘मान्छेको छालामा देखिने जुनसुकै भागमा भएको दाग, कोटी निकै छोटो समयमा हटाउन सकिन्छ,’ उनले भने, ‘भर्खर सुरु भए पनि यो उपचार विधिको प्रयोग गरि सेवा लिनेहरुको संख्या बढ्दै गएको छ।’

उनका अनुसार शल्यचिकित्सकले रेडियो तरंगहरू प्रसारण गर्न सक्रिय इलेक्ट्रोड (विभिन्न प्रकारका इलेक्ट्रोडहरू) को साथ ह्यान्डपीस प्रयोग गर्दछन्। रेडियो तरंगहरू एन्टिना प्लेट (पेशेन्ट प्लेट) द्वारा टिस्युमा केन्द्रित हुन्छन् जुन बिरामीको छालाको सम्पर्कमा टिस्युको पछाडि राखिएको हुन्छ।

सुईको अन्त्यमा वा तार लूप इलेक्ट्रोडमा, ऊर्जाको रिलिजको परिणामस्वरूप लेजरले कोशिका भित्र वाफ उत्पादन गर्ने, तिनीहरुलाई वाष्पीकरण गर्ने र तन्तुहरू विभाजित गरिदिने हुनाले पनि यो विधिको प्रयोग गरि उपचार गर्न सहज छ।

प्रकाशित मितिः   २०८१ जेष्ठ ८ at 12:49 pm 

  • कमेन्ट (Comment)