आजको २१ औँ शताब्दीमा विभेद गर्ने कुरा नेपाली समाजको लागि कुनै अनौठो विषय लाग्दैन। विभेद भोग्नेहरुलाई अन्याय लागे पनि विभेद गर्नेहरूका लागि विभेद गर्नु महा पुण्यको कर्मकाण्ड गरेको जस्तो आभाष गरेको अनुमान लगाउन सकिन्छ। समाजमा विभेदलाई अपराध भन्दा पनि धर्मको रुपमा गर्वका साथ आत्मसाथ गरिने परिपाटीको संस्कार हिजो देखि आजसम्म विकास हुँदै आयो । फलस्वरुप आज विज्ञान र प्रविधिको दुनियाँमा नेपाली समाजमा विभेद बारे अनेकार्थ विचारको खेतीको बिस्तार हुदै गईरहेको छ । विभेदको रुप फेरिदै जाँदा कतिपयलाई आफ्नै घरभित्रको विभेद अनुमान गर्न नसक्ने गरि विचार प्रस्तुत गरिएको पाइन्छ । त्यसकारण समाजमा गैरदलितहरुलाई आफूले गरेको अपराध प्रति कुनै आत्मगलानी छैन । पश्चात छैन ।
आफ्नै घरको आगनसँग आगन जोडिएका अर्का छिमेकी, साथीभाई (दलित समुदाय) माथि अन्याय गरेको प्रति कुनै महसुस नै छैन । अझै भन्ने हो भने समाजका बौद्धिक र शिक्षित भनिएका मानिस यस विषयमा बोल्ने कुरा परै छ । यदि कथान कथाचित कोहि विभेद विरुद्ध बोल्यो भने पनि आश्चर्य मान्छन् । के के नै समाजको अहित हुने काम गरेको भन्ने दृष्टिकोणबाट विश्लेषण गर्न पछि पर्दैनन् । कतिपयलाई जातीय विभेद विरुद्ध बोल्नु र लेख्नु समाजको लागि अभिषाप भएको जिकिर गर्छन् । गाउँघरका अशिक्षित मानिस मात्र होइनन् । शहर पसेका शिक्षित भनिनेहरु पनि विभेद विरुद्ध बोल्ने प्रति सकरात्मक धारणा कहिल्यै राख्न जानेका छैनन् ।
यस्तै समाजको हुर्काई देखि सहर र राजधानीसम्मका कहालीलाग्दा तितो सत्य अनुभवहरु थुप्रै छन् । विभेद विरुद्ध आज मात्र बोलेको होइन । जुन दिनदेखि मेरो छिमेकी र साथीहरुले मलाई विभेदको अनुभूति गराए त्यो दिनबाट सामाजिक न्याय र आत्मसम्मानको लागि निरन्तर बोल्दै आएको छु । बोल्नु पनि पर्छ । बालापन देखि अहिलेसम्म पनि विभेद विरुद्ध बोलिरहँदा, मेरा धेरै गैरदलित साथीहरू टाढिएका छन् । गर्दागर्दै युनिभर्सिटीमा सँगै मास्टर पढ्ने मेरा गैरदलित दौतरी साथीहरू पनि अलग्गिन पुगे । साथीहरूले कक्षामा बिस्तारै बोलचाल गर्नै सकस मान्दै गए । बिस्तारै बिस्तारै म प्रति साथीहरू को धारणा पनि बाझिदै गयो । उनीहरुको बुझाईले मेरो आवाजमा कहिले साथ दिन सकेन । उता कलेज बाहेक अन्य केही साथीहरू भेट हुँदा भन्छन्, “तिमीले धेरै जातिय कुरा गर्छ्यौ । विभेद बारे बोल्नु राम्रो हो । तर तिमीले भने झैं अहिले नै समाज परिवर्तन हुँदैन । यो त बिस्तारै परिवर्तन हुँदै जान्छ ।”
कतिपय त्यस्ता साथीहरू पनि छन् । जसलाई समाजमा विभेद कहाँ छ, कसले गर्छ भन्ने कुरा को नै अत्तोपत्तो नै छैन । उल्टै मलाई नै प्रश्न गरि सोध्छन् । के अझै विभेद गर्छन् र ? अझै छुवाछुत हुन्छ र ? यति मात्र होइन, विभेद गर्ने प्रति आक्रोश व्यक्त गर्दै भन्छन , यो जमाना आएर विभेद गर्नेहरूलाई छोड्नु हुन्न । जमाना कहाँबाट कहाँ पुगिसक्यो । फेरि नेपाली समाजमा जातीय विभेद र छुवाछुत समाजमा परिवर्तन ले रुप फेर्न नपाउदै विभेद समाजमा छ र , छुवाछुत हुन्छ र ? भन्दै चकित परेर प्रश्न गर्ने गैरदलित साथीहरु प्रति मेरो सहानुभूति हुन्छ । यसरी कुनै नयाँ विषय झैं गरि ती साथीहरूले आफ्नै घरभित्र भएको जातीय विभेदको अहंकारलाई चिन्न नसक्दाको अवस्था देख्दा लाग्छ, हामीले पाएको सैद्धान्तिक शैक्षिक ज्ञान फगत रहेछ । जीवनको आधा भन्दा बढि समय शिक्षा आर्जनको लागि बिताएको बेकार लाग्छ । अहिले पनि गैरदलित शिक्षित नयाँ पिढीहरुमा विभेदको अन्त्य गर्ने कुनै सोच, चिन्ता गरेको कतै देखिँदैन । जहाँ आफ्नै वृद्धा आमा बाबूलाई विभेद गर्नु अपराध हो, भनेर बुझाउनुको साटो वृद्धा अवस्थाका आमा बुबालाई के भन्नु , कुरा बुझ्दैनन् भनेर आफू पन्छिने काम गर्छन् ।
यस्ता कुतर्क गैरदलित साथीहरूबाट सुन्दा अचम्म लाग्छ । त्यतिमात्र होइन । चिया गफ होस् या कुनै सभा सम्मेलनमा विभेदको प्रसंग जोडेर बोल्दा, केही गैरदलित साथीहरू अथवा गैरदलित नेताहरु विभेदको सवालमा आफ्नो विचार यसरी राख्छन्, “मेरा अरु भन्दा नजिकका दलित साथिहरु छन्” आफूले दलितलाई साथी बनाएकै कारण विभेद गर्दिनँ । र विभेद हुनु हुँदैन ।” भन्दै विभेद जस्तो सामाजिक अपराधबारे आफ्नो विचार सामान्य तर्कमा टुङ्गयाउन्छन् ।
यस्ता धेरै उदाहरणहरु छन् । यस्तै विचारले समाज रुपान्तरण कसरी हुन सक्छ ? दलितलाई साथी बनाउने बित्तिकै समाजमा विद्यमान जातीय विभेद र छुवाछूतको अन्त्य हुन्छ त ? समाजमा जातीय विभेदको अन्त्य गर्न दलित साथी बनाए पुग्छ ? विभेदको सवाल यत्ति मै टुङ्गिदैन । केहि समय अघि समाज रुपान्तरणको यात्रामा होमिएका एकअर्का गैरदलित साथीसँग बानेश्वरको एक चिया पसलमा अचानक भेट हुन पुग्यो । उनले चिया गफमा जातीय विभेद बारे निकै हौसिएर कुरा गरे । विभेद विरुद्ध बोलेको बारे प्रसंशा पनि गरे । आफूले जातीय विभेद र छुवाछूत विरुद्ध बोल्दै आएको पनि बताए । मलाई पनि लाग्यो, साँच्चै ती मान्छे परिवर्तनकारी नै छन् ।
उनले विभेदको सवालमा एक पछि अर्को प्रसंग जोड्दै जाँदा उनले भने, “मेरो एकदमै मिल्ने एउटा दमाईको छोरी साथी छिन्, हामीसँगै बसेर खान्छौं, मैले उनलाई कहिले त्यस्तो जातको भनेर विभेद गरेको छैन तर विहे गर्थे घरपरिवार ले स्वीकार्दैनन् ।” ती गैरदलित साथी यत्तिकैमा अड्किए । र कुरा अघि बढाएनन् । उनको कुराले मलाई सोच्न बाध्य बनायो । र मनमा प्रश्न उब्जियो । के साँच्चै समाज रुपान्तरण गर्न हिँडेका परिवर्तनकारीको गन्तव्यले पूर्णता पाउँछ त ? मनमा घरीघरी त्यहि कुरा दोहोरीरह्यो । कम्तीमा समाज रुपान्तरणको यात्रामा निस्कनु अघि समाज रुपान्तरणको बाधक तत्व पहिचान गर्न सक्नुपर्छ नि । जब कि समाज बदल्ने विचारको बाधक त्यहि विभेदकारी घरपरिवार नै छ भने समाज कसरी बदल्न सकिन्छ ?
परिवर्तन गर्ने कुरा त घरपरिवारबाट नै उदय हुनु जरुरी छ । त्यसपछि समाज रुपान्तरण गर्न सकिन्छ । घर परिवारले विभेद गर्छ, दलितसँगको विवाह स्वीकार्न सक्दैन भन्दै समाज रुपान्तरणको बारे क्रान्तिकारी विचार राख्दै सडक र सदनमा बोल्नुले कुनै अर्थ राख्दैन । सडकदेखि सदनसम्म आमूल परिवर्तन र समाज रुपान्तरण नाराले चर्चाले स्थान पाएको पनि वर्षौं भयो । बिडम्बना ! ती परिवर्तनका सवाल ले सार्थकता कहिले पाउँछ ? त्यसको कुनै टुङ्गो छैन् । त्यसको समाधानको बाटो कसैले अपनाएको जस्तो लाग्दैन । वास्तवमा विभेद कहाँ छ ? कसले विभेद गर्छ र समाजमा आज पनि छुवाछूत र विभेद जस्तो अपराध को अवलम्बन र संरक्षण किन भईरहेको छ भन्ने तिर शिक्षित, परिवर्तनकार र बौद्धिक वर्गको ध्यान गएकै छैन् । त्यसकारण आजभोली विभेदको प्रसंगलाई छलफलमा ल्याउँदा परिवर्तनकारीहरुको जिब्रो लरबरिन्छ । अन्तत: घरपरिवार भित्र को विभेदले गर्दा जातीय विभेद अन्त्य गर्नैपर्छ भनेर बोल्न सकस मान्छन् ।
गैरदलित साथीहरू जातीय विभेदलाई बहसको विषय बनाउन चाहँदैनन् । खुलेर बोल्ने आँट पनि गर्दैनन् । जसको बाबजुद समाज आमूल परिवर्तनको कुनै बिन्दुमा पुग्न सकिरहेको छैन् । परिवर्तनको नाममा एउटा दलितलाई साथी बनाउदैमा, सँगै बसेर खाँदैमा, सँगै हिँड्दैमा विभेद अन्त्य हुन्छ भन्नु यो विचारमा विचलन ल्याउनु हो । कुनै चिया पसल र क्याफेमा दलित सँगसँगै बसेर चिया खाँदैमा समाज परिवर्तन हुन्छ भन्नु दिवा सपना देख्नु मात्र हो । फेरि पनि मैले विभेद गर्दिनँ, घरका वृद्धवृद्धाले गर्छन् भन्ने कुरा आजको दिनमा अनौठो र हाँस्यास्पद तर्क हो । यहाँ शिक्षित र चेतनशील नागरिकले बुझ्नुपर्ने कुरा, विभेदको जड कहाँ छ र विभेद कसले गरिरहेको छ, त्यसको गहिराई मा पुगेर विश्लेषण गर्न आवश्यक छ ।
घरभित्र विभेद पालेर समाजमा परिवर्तन खोजेर यो कसरी सम्भव छ ? परिवर्तनमूखि मानिसले सोच्नै पर्छ । विभेदको अन्त्य गर्न सबैभन्दा पहिला आफू र आफ्नो घरपरिवार भित्र रहेको जातीय विभेदको अन्त्य गर्न सक्नुपर्छ । समाज रुपान्तरण गर्ने नाम आफूले विभेद नगर्ने तर घरपरिवारका वृद्धवृद्धाले गर्छन्, उनीहरुले बुझेका छैनन्, विभेद बिस्तारै अन्त्य हुन्छ भन्दै विचार पस्किनु अन्तर्राष्ट्रिय स्तरको बेइज्जती हो । समाज परिवर्तन गर्ने नाममा जातीय विभेद र छुवाछुतले विभेद गर्ने तरिका फेरिदै आएको छ । जसले समाज रुपान्तरण र परिवर्तन गर्ने सोच भन्दा पनि समाजमा रहेका विकृति, विसंगति र कुसंस्कारलाई यथावत राख्ने प्रवृत्तिको विकास गर्दै आएको छ । जसको अन्त्य गर्न आजको पुस्ताले सोच्नै पर्छ ।
(पछिल्लो समय जातीय विभेद विरुद्ध खरो आवाज उठाउने, बोल्ने र लेख्ने नयाँ पुस्ताकी जुझारु लेखक नेपालीले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस विशेष यो सामग्री लेखेकी हुन ।)
दीपा नेपाली । २०८१ जेष्ठ २१