सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा नलाग्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्जसहित देशका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कुनै पनि हालतमा खल्बल्याउन नदिन सबै नागरिकलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल विभिन्न धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान, सहिष्णुता र सद्भावको आधारमा अघि बढेको देश भएकाले कसैको उक्साहट वा भ्रामक प्रचारमा नलाग्न आग्रह गर्नुभयो ।
उहाँले सामाजिक सद्भाव बिथोल्ने, धार्मिक तथा साम्प्रदायिक द्वन्द्व निम्त्याउने र हिंसा भड्काउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै कानुन हातमा लिने, द्वेष फैलाउने वा सार्वजनिक शान्ति भङ्ग गर्ने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिनुभयो । उहाँले कुनै एक स्थानमा भएको घटनालाई लिएर सिङ्गो समुदायलाई आरोपित गर्ने र देशैभरि प्रतिशोधको आगो फैलाउने कार्य न्यायसङ्गत नहुने प्रष्ट पार्दै सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र सर्वसाधारणलाई संयम अपनाउँदै सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आह्वान गर्नुभयो

उहाँले सामाजिक सञ्जालमार्फत फैलाइने अपुष्ट सूचना, अफवाह र भ्रामक सामग्रीप्रति विशेष सचेत रहन आग्रह गर्दै नागरिकलाई आधिकारिक निकायबाट जारी गरिएका सूचना मात्र विश्वास गर्न अनुरोध गर्दै यस्ता गलत सूचना र दुष्प्रचारले समाजमा अनावश्यक तनाव सिर्जना गर्ने तथा सामाजिक एकतामा असर पार्ने भएकाले सबैले जिम्मेवार व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाउनुभएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री शाहले पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकेको जानकारी पनि दिनुभयो । उहाँले स्थितिलाई सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिन सम्पूर्ण सुरक्षा निकायलाई तत्काल घटनास्थलमा खटाइएको जिकिर पनि गर्नुभयो । त्यस्तै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले छानबिन पूर्णरूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्रीले स्थानीय स्तरमा प्रत्यक्ष अनुगमन गर्न तथा शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थल पुगेको जानकारी दिँदै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णयहरू गरिएको पनि स्पष्ट पार्नुभयो । साथै, अवस्थालाई सामान्यीकरण गर्न केन्द्रमा सर्वदलीय बैठक आह्वान गरिएको र स्थानीय तहमा समेत निरन्तर संवाद र समन्वय भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
सम्बोधनको क्रममा प्रधानमन्त्री शाहले नेपालको शक्ति विविधतामा रहेको एकता भएको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि सबै समुदायबीचको विश्वास र सहकार्यलाई अझ मजबुत बनाउनु आजको आवश्यकता भएको जिकिर गर्दै सबै नागरिकलाई शान्त, संयमित र जिम्मेवार बन्न आग्रह गर्दै देशको एकता, सामाजिक सद्भाव र पारस्परिक विश्वासलाई जोगाउन सामूहिक भूमिका निर्वाह गर्न अपिल गर्नुभयो।

प्रकाशित मितिः   २०८३ साउन १५ at 7:27 am 

  • कमेन्ट (Comment)