
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र हालै स्वास्थ्यकर्मी र स्थानीय युवाबीच भएको विवादको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसप्रति जुम्लाका पूर्वमाननीय नरेश भण्डारीले ध्यानाकर्षण जनाएका छन्। उनले फेसबुकमार्फत प्रतिक्रिया दिँदै घटनाप्रति चिन्ता व्यक्त गरेका हुन् ।
भण्डारीले जुम्लाको विगत स्मरण गराउँदै करिब डेढ दशकअघि पोस्टमार्टमका लागि समेत नेपालगन्जलगायतका शहरमा निर्भर रहनुपरेको अवस्थाबाट अहिले जुम्ला आफैं डाक्टर उत्पादन र सेवा दिने स्थानमा रूपान्तरण भएको उल्लेख गरेका छन्। उनले यो उपलब्धि सुगम क्षेत्रको सुविधा त्यागेर दुर्गममा सेवा दिन आएका चिकित्सकहरूको योगदानले सम्भव भएको बताएका छन् ।
उनका अनुसार स्वास्थ्य सेवा समयको सीमामा बाँधिन नसक्ने क्षेत्र भएकाले चिकित्सकहरूले कार्यालय समयभन्दा बाहिर पनि निरन्तर सेवा दिनुपर्ने वास्तविकता बुझ्नुपर्ने आवश्यकता छ। शल्यक्रियापछि थकान मेट्न अस्पताल हाताभित्रकै क्यान्टिन प्रयोग गर्नु स्वाभाविक भएको उनको भनाइ छ ।
भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि युवाहरूले देखाएको सक्रियता र उत्साहको प्रशंसा गर्दै त्यसलाई प्रक्रिया र संस्थागत ढाँचाभित्र रहेर अघि बढाउन सुझाव दिएका छन्। साथै, देश विदेशबाट आएका चिकित्सक तथा विद्यार्थीहरूलाई सम्मान र प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
“डाक्टरहरू हाम्रो जीवन बचाउन आएका व्यक्ति हुन्, उनीहरूलाई व्यक्तिगत रूपमा निरुत्साहित गर्नु उचित हुँदैन,” भण्डारीले उल्लेख गरेका छन् ।
उक्त घटनापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ भने स्थानीय तहमा स्वास्थ्य सेवा र व्यवस्थापनबारे थप छलफल आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।











कनका खबर । २०८३ बैशाख १०