काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहनेछ। महाधिवेशनको विषयलाई लिएर कांग्रेसभित्र आन्तरिक मतभेद बढ्दै गएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेपछि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५ औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको छ ।
कांग्रेसको विधानअनुसार कूल प्रतिनिधिको ४० प्रतिशतले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने प्रावधान छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । तर, नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशनको हस्ताक्षर स्वत: खारेज भएको संस्थापन पक्षको माग छ भने थापा र शर्माले भने निर्धारित मितिमा नियमित महाधिवेशन नभएकाले विशेष महाधिवेशन गर्नैपर्ने बताए।
यता नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरेको छ । नियमित महाधिवेशन वैशाखमा हुने जानकारी गराउँदै पार्टी मुख्यसचिव पौडेलले जारी गरेको परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुनुपर्ने उल्लेख छ
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै











कनका खबर । २०८२ पुष २२