“जरा अभियान–२०८३” अन्तर्गत चन्दननाथमा काँग्रेसको विशेष कार्यक्रम सम्पन्न

नेपाली काँग्रेस को “राष्ट्रियता, लोकतन्त्र र समाजवाद” भन्ने मूल नारासहित सञ्चालित “जरा अभियान–२०८३” अन्तर्गत चन्दननाथ नगरपालिका मा विशेष कार्यक्रम सम्पन्न भएको छ। चन्दननाथ नगर समितिको कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

“उत्साह र विश्वास, नवीन अभियान” भन्ने मूल भावनासहित सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदश्य छाँया सुनार प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने नेपाली काँग्रेस केन्द्रिय सदश्य रामदेवी खड्का विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।

कार्यक्रमको सभापतित्व चन्दननाथ नगरपालिकाका नगर सभापति रवि थापा ले गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि छाँया सुनारले नेपाली काँग्रेसको जरा अभियान संगठनलाई आधार तहसम्म सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको बताउनुभयो।

उहाँले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय तथा जनअधिकारको संरक्षण नेपाली काँग्रेसको मूल दायित्व भएको उल्लेख गर्दै पार्टीभित्र एकता, अनुशासन र सक्रियताको आवश्यकता औँल्याउनुभयो। उहाँले जनताको विश्वास कायम राख्दै गाउँ–गाउँमा पार्टीको उपस्थितिलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

विशेष अतिथि रामदेवी खड्काले नेपाली काँग्रेसको इतिहास जनताको अधिकार र लोकतन्त्रको रक्षाका लागि गरिएको संघर्षसँग जोडिएको बताउनुभयो। उहाँले पार्टीलाई अझ सशक्त र जनमुखी बनाउन युवापुस्ता तथा महिलाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

साथै संगठनलाई जनतासँग प्रत्यक्ष रूपमा जोडेर जनभावनाअनुसार कार्य गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो। कार्यक्रमका सभापति रवि थापाले चन्दननाथ नगरपालिकाभित्र केन्द्रको निर्देशन अनुसार पार्टी संगठनलाई थप क्रियाशील, व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले जरा अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।

उहाँले कार्यकर्ताबीच आपसी सहकार्य, एकता र सक्रियतालाई अभियानले थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले नेपाली काँग्रेसलाई आगामी दिनमा अझ एकताबद्ध, जनउत्तरदायी र बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा पार्टीको नीति, सिद्धान्त, संगठन विस्तार तथा जनतासँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो। उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले कार्यकर्तामा नयाँ ऊर्जा र आत्मविश्वास थपिएको आयोजकले जनाएको छ।

प्रकाशित मितिः   २०८३ बैशाख २४ at 5:48 pm 

  • कमेन्ट (Comment)