नियति

एकाबिहानै छिमेकी आन्टी कराउँदै हुनुहुन्थ्यो । म झसङ्ग ब्युँझिएँ । आन्टी आफ्नो छोरालाई कराउँदै भन्दै हुनुहुन्थ्यो । “श्याने! ए श्याने! सय रुपैयाँ ले त । म तँलाई साँझ ल्याइदिन्छु ।” छोरो गुमनाम रह्यो । केही बोलेन । लगभग आठ दस चोटी छोरालाई बोलाउनु भयो र पैसा माग्नु भयो तर छोराले अँह दिएन । बोल्दै बोलेन । मलाई पनि हाक्पार्दै कराउनु भयो र तँसँग सय रुपैयाँ छ दे त म साँझ दिन्छु ।” अँह छैन मसँग त तीस रुपैयाँ मात्र छ त्यसले हुन्छ भने दिन्छु ।” त्यसपछि आन्टी चुप बस्नुभयो । मैले पनि कसरी दिन्थेँ आफ्नो गोजीमा तीस रुपैयाँ भन्दा एक सुक्को थिएन । फेरि मैले पुनः झ्यालबाट टाउको बाहिर निकाल्दै भने “किन कहाँ जानुहुने होर, यति बिहानै ?”“छोरीको घर जाने भनेको गोजीमा एक रुपैयाँँ छैन । छोरोलाई मागेको दिन्न ।” फेरि सोधेँ “के छ र आज त्यस्तो ? अनि छोरासँग कसरी आयो र पैसा कस्ले दिएको छ र ?” उहाँले भन्नुभयो, “गौँ दाई गर्ने छ । एक्लै सक्दैन । अहिले बिहान भरी काटेर सकिन्छ अनि दिउँसो दाइ गर्ने हुन्छ । त्यही भएर यहीँबाट मान्छे लगेर जानलागेको पैसा नै छैन । हिजो कहाँ काम गरेको रहेछ पाँच सय ल्याएको छ ले भनेको दिन्न।” आमाको मन, “आफैंले ९ महिना गर्भमा राखेर जन्माएको छोराले त आमालाई आवश्यक पर्दा केही पैसा दिन सकेन के पाल्थ्यो र?” एक छिन् घोरिरहनुभयो । मेरो घरमा आउनुभयो र, ”अटोलाई फोन गरेर बोलाइदेन” भन्नुभयो । मैले नि फोन गरेर बोलाइदिएँ । तर आउन ढिलो गर्‍यो र हिँड्दै जानुभयो । आमा होइन्जेल शौचालयमा बसेको छोरा, आमा गएपछि मात्र शौचालयबाट निस्कियो र गाउँतिर बरालिँदै गयो । यो सबै दृश्य मेरो आँंखमा कैद भएर बस्यो ।

गरीबीले थला परेको उनको परिवारमाथि झनै बज्रपात पर्दै थियो । सासू-ससुराले पनि देखि सहन्न थे । जति काम गरे पनि काम देख्दैन थिए । दुई दिनको बासी तै पनि हिउँ झैँ चिसो र चपाउँदा ढुङ्गाका स-साना दाना झैँ खुद्रुङ्ग गर्ने कोदोको रोटी चपाउँदा पनि “खान भन्दा अरु केही जानेकी छैन” भन्थे। यो बेला उनलाई साथ दिने उनिकी आमाजु दिदी नै थिइन । उनको बिहे भएको थिएन । उनी बुहारीलाई सघाउन सँगसँगै लेक बेसी, गोठालो जान्थिन तर सासू-ससुरा सहन्न थे । आफ्नै आमा बाको त्यो अवोध बालिका बुहारीमाथिको दुर्ववहार देखेर आमाजूले भन्थिन् ।

“आमा-बा ! बुहारीलाई किन यतिसम्म घृणा गर्नुहुन्छ । ऊनी पनि त कसैकी छोरी हुन् । भाइले बिहे गरि ल्यायो र उनी घर गरि खाउँला भनी आएकी हुन् । उनी पनि त्यसै आएकी त होइनन् नी । तपाईंहरूले नै नसहे कसरी हुन्छ र एउटा घर स्वर्ग समानको ? सम्झनुस् त म पनि त हजुरहरूकै छोरी हुँ । म सधैंभरी यहि बसिरहन पनि त मिल्दैन नी । एक न एक दिन त म यो घरको आगन छोडेर पराइ घर जानैपर्छ । पराइ मान्छेलाई आफ्नो पति बनाउनै पर्छ । अरुको बा-आमालाई आफ्नो आमा-बा बनाउनैपर्छ । त्यो बेला मलाई त्यो घरमा पनि खान नदिए, बस्न नदिए, नानाथरीको गाली गरे के तपाईंहरू सहनुहुन्छ ? नारी नारी सबै बराबर हुन्छ । कसैलाई काखा, कसैलाई पाखा गरेर किन हेर्नुहुन्छ?।”

आमा-बा मौन रहे । हेर्दाहेर्दै, दिन गन्दागन्दै, ओल्टेल्टे पर्दा पर्दै तीज पनि आउन लागेछ क्यारे । चारैतिर तिजको रमझम छायो तर उनको अनुहार भने ग्रहण लागेको चन्द्रमा झैँ देखिएको छ । साँझ पर्दा गामभरी झ्याउरे गीतको स्वर र मादलको धुन सुनिन्छ । उनको मन पनि भित्र भित्रै एक्लै नाचिरहन्छ तर बाहिर भने उदास छ। भदौरे झरिले झन् हरियाली देखिएका डाँडाकाँडा उनका लागि चैतमासको घामले जलेको डाँडोजस्तो देखिन थाल्यो । आमाजूले हँसाउन खोज्दा पनि हाँस्दिनन्। हाँसुन पनि कसरी । आमाजुसँग हाँसेर बस्यो भने फेरि सासुलाई तिम्री बुहारी त आमाजु दिदीसँग हाँसेरै बस्छे भनेर पो कुरा लगाइदिने हुन् कि ? हाँस्न पनि गाह्रो थियो । उनको मनमा यावत कुरा खेल्न थाले । गाउँमा एक दुई म दिन अघि देखि नै आउने चेलीहरू माइती आइसके, कोही जानेहरू गईसके । उनको भने केही सुरसारै छैन । माइतीबाट पनि कोही लिन आउँदैनन् । हुन त तिज आउन पनि अझै केही दिन बाँकी छ नि । यहि सोचेर मन शान्त पारिन् । एक दिन बिहान आमाजू बुहारी झिसमिसेमै पधेँरो गएका थिए । आमाजूले सोधिन् ।

“बुहारी ! माइती जान मन छैन तीजमा ?”
उनी केही बोलिनन् मौन रहिन् । एकै छिनमा आँखा तलाउमा हावाको वाहले पानी हल्लिए झैँ आँसुहरू टिलपिलाउन थाले । यो देखेर आमाजूले सोधिन् । “किन बोल्दिनौ ? हुन त बुहारी मान्छे, पहिलो पटक माइती जाने त रहर हुन्छ नै । आमा भेट्न जान मन पनि छ होला । तिमी जाँदा तिम्रा आफन्त भाइ बहिनी कति खुसी हुन्छन् होला । ह्या मैले पनि के कस्तो प्रश्न सोधेर तिम्लाई रुवाउँछु भन्या । हुन देऊ, तिम्रा भाइ पनि सानै छन् । आउन सक्दैनन् होला । आज म तिमीलाई बजार लान्छु । चुरापोते, तिम्रा लागि सबै सामान किनेर ल्याइदिन्छु । अनि भोलि नै जाउली माइती घर । केही दिन बसेर तीज, पञ्चमी उतै मानेर आउली ।”

“आमाजू दिदीलाई म बोझ भएर हो कि के हो, सासू-ससुराले माइती जाउ नभन्दै दिदीले भनिन् ।” उनको मनमा यस्तै यस्तै कुरा खेल्दै थियो । फेरि अर्को मनले खण्डन् गर्दै भन्यो, “हैन हैन कहाँ नराम्रो सोच्छिन र?” त्यसपछि उनी केही बोलिनन् । गाग्रीमा पानी भरेर घर आए । कोदोको ढिडो खाएर उनीहरू गुनियो र चोलोलाई आफ्नो शरीरमा पहिरिएर बाटो हिँड्दै गर्दा सासु बोलिन् ।

“का जान लाकी हँ ?” उनी केही बोलिनन्, उनी भन्दा अगाडि उनकी आमाजू दिदी बोलिन्। “बजार जान लाको, तपाईंहरूले तीज नजिक आउँदा पनि न छोरीलाई, न बुहारीलाई केही ल्याइदिनु भएन । त्यसैले बजार जान लाको तीज सामान ल्याउन ।”

सासू फेरि बोलिन् ,”तँलाई त ल्याइदिएको छ ?” “अनि बुहारीलाई नि ?” आमाजु दिदीले आमालाई प्रतिप्रश्न गरिन् सासुको एक शब्दे बोली फर्कियो, “छैन ।”

यो सुनेर उनको मनमा निकै ठुलो पहिरो गयो । मनको पहिरोले मनकै ठुलो बस्ती नै डुबान पारेर लग्यो । आखिर आफ्नो सन्तान आफ्नो नै हुँदोरहेछ । आफ्नी छोरीलाई ल्याइदिँदा मलाई पनि ल्याइदिन सक्थे नि ? के म यो घरमा काम गर्न बसेको नोकर होर ? मान्छेहरू नोकरलाई त एक सरो कपडा दिन्छन् । म त यो घरको बुहारी न हुँ तर होइन रहेछ । छोरीले आमालाई सोधिन् “मलाई ल्याइदिँदा बुहारीलाई ल्याइदिन सक्नुभएन ?” आमाको प्रतिउत्तर आयो, “नाइँ ल्याइन । किन ल्याउनु यसलाई ?” यति कुरा सुनेपछि दुबै मौन रहे ।

त्यसपछि दुइजना नै बजार गए । आफ्नो लागि आमाले ल्याइदिए पनि बुहारीको लागि ल्याइदिइन् । उनीसँग हाट जाँदा, टिका लगाएर दक्षिणा पाएको पैसा चार सय जती थियो । सारी, चुरा, पोते, यावत कुरा किनेर पनि २०० सय रुपैयाँ बच्यो । बुहारीको लागि सबै सामान किनेर घर फर्किए । साँझ आमाजू दिदीले आफैँ पाओर तयार गर्न लागिन् । त्यो सबै दृश्य सासू र ससुराले हेर्दै थिए । बिहान भयो । सबैजना सधैजस्तो घाम उदाउनु अगावै उठे । बुहारीले उठेर दैलो पोतिन् । आमाजू गाईवस्तु स्याहारसुसार गर्न लागिन् । केही समयपछि आमाजूले बुहारीलाई बोलाइन्, “बुहारी आऊ, लुगा लगाऊ । अहिले ढिला हुन्छ जान । आमा बाको बाटो हेर्ने हो भने त तिमी यो साल त के कुनै वर्ष पनि माइती जान पाउँदिनौँ ।” यो सुनेर बुहारी रोइन् । बिहानै उठेर आमाजे ढिडो पकाएकी थिइन् । आलाजाल गरेर ढिडो खाए र लुगा पहिरिइन् ।

केही समयपछि बुहारी माइती हिँडिन् । हिँड्दा सासुससुराको पाउ परि ढोग्न खोजिन् तर पाउ दिएनन् । आमाजुले पठाइ लगिन् । आदि बाटो पुगेपछि बुहारीले भनिन्, “भयो दिदी ! म जान्छु अब तपाईं किन दु:ख गर्नुहुन्छ र म जान सकिहाल्छु नी ।”

“म तिम्रो माइतीसम्म पुर्‍याउँछु नि।” “भयो! अहिले आमा कराउनुहुन्छ म जान्छु । तपाईं घर जानु ।” “हुन्छ! राम्रोसँग जाऊ । जाँदा बाटोमा भोक लाग्ला कोदोको रोटी र अचार राख्देको छु झोलामा । भोक लाग्यो भने झिकेर खाऊ है । लाऊ हिजो बजार गएर बचेको दुई सय थियो । मलाई नि चाहिन्छ । तिमी सय राख म सय राख्छु ।” बुहारी माइती गइन् । छोरी घर आइन् । बिस्तारै तीज नजिक आयो । केही दिनपछि तिज पनि सकियो । बुहारी माइतीमा आमा, दिदी, भाइ, आफन्तसँग रमाउँदै गइन् । आमाले “कस्तो छ नानी तेरो घर ? सासुससुरा कस्ता हुनुहुन्छ ? ज्वाइँ के गर्नुहुन्छ ? कत्तिको माया गर्नुहुन्छ ?” भनेर सोधे ।

उनी केही छिन्, मौन रहिन् । साँचो बोलौँ त घरको इज्जतको कुरा नबोलौँ जे परेको छ आफैंलाई थाहा छ । उनले ढाकछोप गरेर घरको कुरा माइती र माइतीको कुरा घरमा गर्न हुन्न झगडा हुन्छ भनेर कुरा लुकाउँथिन् र भन्थिन्, “ठिक छ आमा, सासुससुरा पनि राम्रा हुनुहुन्छ, देउता झैँ हुनुहुन्छ । आफ्नो छोरीलाई झैँ माया गर्नुहुन्छ । आमाजु दिदीले पनि आफ्नै बहिनी जस्तै माया गर्नुहुन्छ । श्रीमान पनि अति इमानदार हुनुहुन्छ ।” उनले यति भन्दासम्म उनका आँखा रसाइसकेका थिए । आमाले देखिन् र भनिन्, “किन रोएकी छोरी ? तैंले हामीलाई ढाँट्दैछेस् हो ?”

“होइन आमा ढाँटेको” “किन रोइस त कुरा गर्दागर्दै ? त यतिकै रुने मान्छे हुँदैहोइनिस् । के भयो तँलाई भन त ? तेरो घर राम्रो परेन हो । जस्तो होस् छोरी सहनुपर्छ ।” “होइन आमा। आँखामा धुलो परेछ ।” कुरा ढाँट्दै भनिन् र आँसु पुछिन् । उनले त्यसरी ढाँट्नुमा पनि वियोगान्त थियो । विस्तारै तीज सकिसकेको थियो । बुहारी फेरि उहीँ आफ्नो कष्टको भण्डार भएको घरमा फर्किने बेला भएको थियो । छोरी घर फर्किइन् । घर जाँदा आमासँग अङ्गालोमा कसिएर निकै रोइन् ।

घर त आइन् तर सासुससुराले भित्र पस्न नै दिएनन् । आमाजुको बिहे भइसकेको रहेछ । पछि गाउँले आएर फकाइ फुलाई गरि पठाए, अर्को दिन छुट्याइदिए । अंशको नाउँमा एउटा टुक्रा जमिन थियो । काम गर्‍यो गर्‍यो । ३ महिना पनि राम्रोसँग खान पुग्दैन थियो । खान निकै सकस परेको थियो । यहि बीचमा छुट्टिएको केही समयपछि पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिइन् । छोरा भोकले निकै रुन्थ्यो । आमाले खान पाए पो दूध फक्रिन्छन्, अनि बच्चाले खाने हो । यस्तै दिनहरू चल्दै गए । दुई वर्षको अन्तरालमा दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिइन् । त्यो बेलासम्म श्रीमानले पनि माया देखाउन थाली सकेका थिए ।

बिस्तारै दुई छोराछोरी ठुला हुँदै गए । तर अरू तेस्रो र चौंथो सन्तान पनि तेस्रो छोरा र चौँथो छोरी जन्मिए । खान लाउन सकस परेपछि जेठो छोरो कक्षा छ मा पढ्दापढ्दै कमाउनको निम्ति चौध वर्षको हुँदा नै छिमेकी मुलुक भारतमा गयो । उनीहरूलाई मकैको आटो पनि पानी हालेर खोले झैँ बनाएर खानु पर्थ्यो । अनि कसरी भोक कट्दो हो । छोरी पनि ठुलि हुँदै गइन् । ठुली भए पछि बाह्र वर्षमा नै छोरीको विवाह भयो । पछिका सन्तान पनि हुँर्कदै गए । जसोतसो दाउरा बेचेर भए पनि छोराछोरी हुर्काइन् । श्रीमान् सधै रक्सी खाने र यताउता गर्ने ठिक्क । छोरीको घर खासै टिक्न सकिन । बाह्र वर्षमा बिहे भएको छोरीको एक वर्ष नहुँदै घर बिग्रिँयो । दोस्रो बिहे भयो । त्यो पनि सफल हुन सकेन । पछि तेस्रो बिहे भयो । त्यो बेलासम्म उनी सत्र वर्षकी भइसकेकी थिइन् । बिहे भएको एक वर्षमा नै उनले पहिलो सन्तानको रुपमा लक्ष्मीलाई जन्म दिइन् ।

छोराले पनि कमाउँदै गयो । उनीहरूको आर्थिक अव्यवस्था पनि सुध्रिदै गयो । पछिका सन्तान पनि हुर्कँदै गए । छोरी बाह्र वर्षकी र छोरा सोह्र वर्षको भयो । पढ्न बीचैमा छोड्यो । कहिले कता कहिले कता काम गर्न जान्छ । थोरै पैसा कमाउँछ तर आमाले माग्दा दिदैन । आमा आफैँले जन्माएको छोराले माग्दा त दिदैन अरू कसले दिन्छ । ठूलो भएपछि के पाल्ला भन्ने चिन्ता गर्छिन् । उनलाई अहिले नियतिले कहाँबाट कहाँ पुर्‍यायो । सानै उमेरमा विहे गरेर पनि घरमा सहेर काम गरिन् र घर जितेर बसिन् । अहिले उनको परिवार खुसिसँग बसिरहेको छ ।

प्रकाशित मितिः   २०८१ असार २२ at 8:40 am 

  • कमेन्ट (Comment)