जुम्ला जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा 

                  तस्वीर: कर्णाली मिसन/ सागर परियार

जुम्ला । जुम्ला जिल्लालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना जिल्ला घाेषणा गरिएकाे छ । शनिवार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चाय,चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायत,प्रमुख जिल्ला अधिकारी केदानाथ शर्मा,जिल्लाभरका महिला स्वास्थ्य स्वयमसेविका लगायतकाे उपस्थितीमा जुम्लालाई पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे छ ।

जुम्लाका खाेप उमेर समुहका सबै बालबालिका खाेपकाे पहुँचमा पुगेकाे सुनिश्चितता गर्ने वार्षिक कार्यक्रमनुसार जुम्ला जिल्लालाई पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे हाे । आर्थिक वर्ष २०८१/८२ मा जुम्लाका आठै स्थानीय तहका बालबालिका पूर्ण खाेपकाे पहुँचमा पुगेका छन् ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकाेटाका अनुसार राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोप सबै पाएकाे र काेहि पनि नछुटेकाे पुष्टि गरि पुर्ण खोप सुनिश्चित जिल्ला घोषण गरिएको हो। उनले भने; जुम्ला जिल्लामा २०७९ सालबाट पूर्ण खोप घोषणा तथा दिगाेपना कार्यक्रमकाे शुभारम्भ भएकाे हाे ।

जुम्लाका ८ वटा स्थानीय तहका ६० वटा संस्थागत खोप केन्द्र र ४४ वटा बाह्य खोप केन्द्रबाट मासिक १०४ खोप केन्द्रबाट १०७ खोप सेसन संचालन गरि खोप सेवा प्रदान गरिएकाे थियाे। जुम्लामा खोप सेवाको लागि आ.ब. २०८१/८२ मा १ बर्ष मुनिका बालाबालिकाको लक्षित जनसंख्या २०१७ जना रहेको छ । भने स्वास्थ्य संस्थाको प्रतिबेदन अनुसार खोप प्राप्त गर्ने करिब ९० प्रतिशत रहेका छन् ।

पुर्णखोप सुनिश्चितताको लागि पुर्णखोप निर्देशिका २०७१ (संसोधन २०७८) अनुसार जन्मेको दिन देखि १५ महिना सम्म तालिका अनुसारको खोप पुरा भएको हुनु पर्ने १६-५९ महिनाका बालबालिकाको घरधुरी सर्वेक्षण गरिएकाे थियाे ।

सर्वेक्षण अनुसार ४ हजार २६१ बालबालिकाहरु मध्य खाेप पाउनबाट छुट भएका १२ जना बालबालिकालाई छुट खोप प्रदान गरी खाेप उमेर समुहका ४ हजार २६१ जना बालबालिकाहरुले पुर्ण खोप पाएको सुनिश्चितता गरी प्रदेश खोप समन्वय समितिबाट प्रमाणिकरण भएपछि शनिवार जुम्ला जिल्लालाई पुर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएकाे प्रमुख सापकाेटाले जानकारी दिए ।

बालबालिकाले अनिवार्य पाउनै पर्ने बीसीजी, डिपिटी, दादुरा, रुवेला लगायतका विभिन्न नियमित खोप लगाईएका छन् । त्यस्तै स्थानीय तह स्वास्थ्य शाखाका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका २०८२ वैशाख १२ गते, सिँजा गाउँपालिका वैशाख २५ गते, हिमा गाउँपालिका वैशाख ३१ गते, कनकासुन्दरी गाउँपालिका जेठ ८ गते पूर्ण खाेप सुनिश्चिता पालिका घाेषणा भएका थिए ।

साथै पातारासी गाउँपालिका जेठ ९ गते, तिला गाउँपालिका जेठ ११ गते र ताताेपानी गाउँपालिका असार ५ गते पूर्ण खोप सुनिश्चित घोषणा गरिएकाे थियाे ।

प्रकाशित मितिः   २०८२ असार २१ at 2:00 pm 

  • कमेन्ट (Comment)