श्रीज्योति फाउन्डेसनद्वारा भुकम्प प्रभावित छात्रालाई छात्रवृत्ति

श्रीज्योति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छान्राहरूलाई छात्रवृत्ति वितरण गरेको छ।

फाउन्डेसनले गैरआवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन(तीन पालिकाका १५ जना छान्रालाई छात्रवृत्ति वितरण गरेको हो।

गैरआवसीय जाजरकोटको भेरी नगरपालिका(१ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई छात्रवृत्ति वितरण गरिएको अध्यक्ष ज्योति कटुवालले बताइन्।

‘रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका २, सानीभेरी गाउँपालिकाका २ र चौरजहारी नगरपालिकाका २ छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको हो,’ उनले भनिन्, ‘१५ जना छात्राहरूलाई स्कुल पोशाक, स्टेशनरी सामाग्रीलगायत वितरण गरिएको हो।’

छात्रवृत्ति वितरण कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएमा, अति विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरिन्। उनले फाउन्डेसनले छनोट गरेका बालिकाका अभिभावकहरूलाई नगरपालिकामार्फत आयआर्जनको कार्यक्रम दिइने बताइन्।

‘अति आवश्यक ठाउँमा सहयोग पुगेको छ, यो सहयोग उच्च शिक्षा अध्ययनसम्म कायम रहोस्,’ उनले भनिन्, ‘नगरपालिकाबाट हुने सहयोग गर्न हामी तयार छौं।’

जनज्योति मावि आठवीसकोट रूकुम पश्चिमका प्रधानाध्यापक मन्जुदेवी खड्काले स्कुल पोशाक र लेख्नका लागि कापी र कलमसम्म नपाउँदा धेरै बालबालिका पढ्नबाट बन्चित रहेको बताइन्।

‘भुकम्पपछि त रूकुम र जाजरकोटमा यो ठूलो समस्या बनेको छ,’ उनले भनिन्, ‘संकटका बेला ज्योति फाउन्डेसनको सहयोग धेरै महत्वपूर्ण छ।’

फाउन्डेसनका अध्यक्ष कटुवालले १० कक्षासम्म छात्राहरूलाई निरन्तर सहयोग गर्ने बताइन्। उनले छात्रवृत्ति दिइएका छात्राहरूको स्वास्थ्य विमाको जिम्मेवारी पनि फाउन्डेसनले लिने बताइन्।

उनले भनिन्, ‘फाउन्डेसनको स्थापना लगत्तै जाजरकोट केन्द्रविन्दू बनाएर भुकम्प गएकाले तत्काल जाजरकोट र रूकुम पश्चिमका छोरीहरूलाई सहयोग गरिएको बताउँदै आगामी दिनमा कर्णाली अरू जिल्लाहरूमा पनि छोरीहरूका लागि कार्यक्रम सन्चालन गरिनेछ।’

प्रकाशित मितिः   २०८१ बैशाख ३० at 5:13 pm 

  • कमेन्ट (Comment)