जुम्लामा सम्पन्न जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम चन्दननाथ प्रथम

जुम्लामा हालै सम्पन्न जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रमले कर्णाली प्रदेशका युवा विद्यार्थीहरूमा रहेको नवप्रवर्तनशील सोच र सिर्जनशीलतालाई उजागर गरेको छ। सामाजिक विकास कार्यालय जुम्लाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूबीच विज्ञान र प्रविधिमा आधारित सिर्जनात्मक कामको मूल्यांकन गर्दै उनीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रममा सामाजिक विकास कार्यालय जुम्लाले तयार गरेको पाँचवटा मुख्य सूचकहरूको आधारमा प्रस्तुत परियोजनाहरूको मूल्यांकन गरिएको थियो। मूल्यांकन समितिका संयोजक कृष्ण बहादुर रोकायाका अनुसार सामग्री बनावट, प्रयोगमा आउने वा नआउने, घरमा प्रयोग विहिन अवस्थामा रहेका सामग्रीको उपयोग, नविनता तथा प्रस्तुति शैली लगायतका सूचकका आधारमा प्रतिस्पर्धीहरूलाई नम्बर दिइएको हो।

उक्त प्रदर्शनीमा जिल्लाका विभिन्न विद्यालयहरूबाट तीन वटा सहभागिता देखिएको थियो। तीमध्ये कर्णाली मावि अनामनगरले सबैभन्दा उत्कृष्ट विज्ञान परियोजना प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेको छ। यस परियोजनामा दैनन्दिन जीवनमा प्रयोगमा ल्याउन सकिने, स्थानीय स्रोत साधनको प्रयोग भएको तथा वातावरणमैत्री दृष्टिकोण समेटिएको थियो।

दोस्रो स्थान मालिका मावि धाँपा र भैरव मावि नराेकाेटले साझा रूपमा प्राप्त गरे भने तेस्रो स्थान कानकासुन्दरी गाउँपालिका अन्तर्गत पर्ने पाण्डवगुफा मावि, कोटघरले प्राप्त गरेको छ। विद्यार्थीहरूले घरमै सजिलै उपयोग गर्न सकिने प्रविधि तथा समाधानहरू प्रस्तुत गरेका थिए, जसले ग्रामीण भेगमा समेत प्रयोग गर्न मिल्ने सम्भावनालाई संकेत गरेको छ।

कार्यक्रमका सभाध्यक्ष सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोप बहादुर बुढा रहेका थिए। उनले विज्ञान र प्रविधिका माध्यमबाट समाज रूपान्तरण सम्भव हुने भन्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अनुसन्धान र नवप्रवर्तनतर्फ प्रेरित गर्ने बताए। प्रमुख अतिथि जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले विज्ञान र प्रविधिमार्फत जुम्ला जस्ता दुर्गम जिल्लामा समेत विकास र सहज जीवनशैलीको सम्भावना देखिएको बताए।

कार्यक्रमले नव प्रतिभाहरूको पहिचान मात्र नभई, स्थानीय सामग्रीको उपयोग गरेर कसरी उपयोगी र व्यावहारिक समाधान तयार गर्न सकिन्छ भन्ने सन्देशसमेत दिएको छ। आयोजकको भनाइअनुसार यस्ता कार्यक्रम आगामी वर्षहरूमा समेत निरन्तरता दिइनेछ।

यस प्रदर्शनीले जुम्लाको शिक्षा क्षेत्रमा नविन प्रयासहरूलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

प्रकाशित मितिः   २०८२ जेष्ठ १८ at 3:04 pm 

  • कमेन्ट (Comment)