कविता : म जान्छु

अब
यी सेप्टेम्बरका साँझहरु तिमीलाई भए
यी नोभेम्बरका रातहरु तिमीलाई भए
तिमीलाई भए
शरदमा उम्रिने पात
उज्यालो आकाश

मैले सम्हालेर राखेका
जम्मै जम्मै हजारी फूलहरु

मैले लाएका प्रीत तिमीलाई भए
मैले बाँचेका दिन तिमीलाई भए
मैले हाँसेका एकछिन् तिमीलाई भए
तिमीलाई भए
मैले जाडोमा कठ्याङ्ग्रिदै कठ्याङ्ग्रिदै
सुनिरहने जम्मै जम्मै न्यानोका गीतहरु

मेरा त समय
चप्पलका फिता जसै चुटिगए
मेरा त समय
धर्तिमा निर्वासित पितृसत्ता
चालक दलका लोग्ने जसै छुट्टि गए
मेरा त समय
सिउँदो चिरिएकी बैकिनाका
हातमा रहेका चुरा जसै फुटिगए
मानौं
मेरो कुनै किनारा थिएन

किनाराको कुनै समय हुँदैन
त्यसैले म जान्छु

तर
म जानू भन्दा अगाडि
तिमीलाई एउटा कुरा भनी जान्छु
तिमी बस्ने कोठाको एक कुनामा
बन्द मुधुस छ
त्यस भित्र
मैले मेरो मुटु झिकेर राखेको छु
एकदिन
मुटु नभएको मान्ठ आउनेछ
उसैलाई दिनु
हवस त

म घरबाट जान्छु
चमकबाट जान्छु
पहाड चट्टानबाट जान्छु
अनन्त तरङ्गमा फैलिएको रगतबाट जान्छु
नदी, ताल, समुद्रबाट जान्छु
एक मजदुर
जसले आफ्नो हात
स्वयं बैंकलाई दिएको थियो
उसबाट जान्छु
मौनताबाट जान्छु
दमाह, ढोल, क्यासेट, टेपबाट जान्छु
यो दुखी भिडबाट जान्छु
यो डरलाग्दो समय, उजाड रातबाट जान्छु
अँध्यारो खाडी, अँध्यारो काठबाट जान्छु
शुन्यता, रिक्तताबाट जान्छु
काग, माछो, भ्यागुतो, छेपारो, खरायो, घोडाबाट जान्छु
एक कोषीय दुई कोषीय बिरुवाबाट जान्छु
माटोबाट जान्छु
आगोबाट जान्छु
जङ्गलबाट जान्छु
विचारबाट जान्छु
यादबाट जान्छु
घाटबाट जान्छु
हावाबाट जान्छु

फू…………………………।

प्रकाशित मितिः   २०८१ जेष्ठ २६ at 9:21 am 

  • कमेन्ट (Comment)