गुठीचौर गाउँपालिकामा हरिचन्द्र गिरीको अध्यक्षतामा १५ सदस्यीय कर्मचारी युनियन समिति गठन


जुम्लाको गुठीचौर गाउँपालिकामा नेपाल निजामती कर्मचारी युनियनको गाउँपालिका स्तरीय प्राथमिक समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। हरिचन्द्र गिरीको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको हो। समितिलाई कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्दै गाउँपालिकाका कर्मचारीहरूले यसले कर्मचारीहरूको हकहित र अधिकार संरक्षणमा उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गरेका छन्।

समितिको नेतृत्वमा सुमित थापा र नवराज उपाध्याय उपाध्यक्ष, मञ्जु चौलागाईं कोषाध्यक्ष, र रतन बुढा सचिवको रूपमा चयन भएका छन्। यसैगरी, सदस्यहरूमा बरम गिरी, ललिता जैसी, उषा आचार्य, कृष्ण कन्या गिरी, सावित्री सिंह, राज्यलक्ष्मी शर्मा, धनप्रसाद जैसी, क्षेत्रबहादुर कार्की, हन्तबहादुर बुढा, पुरुषोत्तम खत्री, सृजना महत, र देवानन्द तिमल्सेना रहेका छन्।

समितिले निजामती कर्मचारीहरूको अधिकार सुनिश्चित गर्ने, समस्या समाधान गर्ने, र कर्मचारीहरूको पेशागत विकासमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ। स्थानीय तथा प्रदेश स्तरका समस्याहरू सम्बोधन गर्दै कर्मचारीहरूको हकहितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समितिले जनाएको छ।


नेपाल निजामती कर्मचारी युनियन जुम्लाका अध्यक्ष उपेन्द्र चौलागाईंका अनुसार जिल्लाका अन्य गाउँपालिका र नगरपालिकामा पनि यस्ता समिति गठन गर्ने तयारी भइरहेको छ। चौलागाईंले हरेक कर्मचारीलाई एकताबद्ध गरेर संस्थागत सुधार र व्यावसायिक सेवा प्रवाहको सुनिश्चितता गर्न युनियनको भूमिका महत्वपूर्ण रहने बताए।यस समितिको गठनसँगै गुठीचौर गाउँपालिकाका कर्मचारीहरूले आफ्नो हक, अधिकार र सुविधा सुनिश्चित हुने विश्वास लिएका छन्। कर्मचारीहरूको सामूहिक प्रयासले सेवा प्रभावकारी र पारदर्शी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः   २०८१ मङ्सिर ७ at 7:35 pm 

  • कमेन्ट (Comment)