१
वरिपरि जुठो भाँडा र ठिहिराउने पानी याद आयो
उडुस बस्ने सिरक र धोक्राको सिरानी याद आयो
बासी रोटीको भरमा गोडा कुहिन्जेल काम गरेपछि
तलब माग्दा गाली गर्ने साहुजीको बानी याद आयो ।
– शम्भु गजुरेल/नुवाकोट
२
भाँडा त थुप्रै टल्काईयो तर भाँडाझैँ टल्किएन जिन्दगी
कसैले टुटेको जोडेन, कसैले फाटेको सिएन जिन्दगी
कतै पत्थरमा पानी उम्रियो कतै बरु बालुवा रसाएको देखेँ
तर दसनङ्ग्रा ख्याउनेहरुको कहिल्यै बदलिएन जिन्दगी।
– डि. पी. बास्तोला/इलाम
३.
काम गरे ज्याला पाइन्छ, पाइन्न बक्सिस विदेशमा
जस्तो नि गर्नै पर्छ, कसलाई देखाउनु रिस विदेशमा
निमेषभरमा थुप्रिएर बस्छन्, काम चाङ्गका चाङ्ग
बरु मेशिन थाक्ला, थाक्न पाउन्न मानिस विदेशमा l
-उधब अधिकारी/नुवाकोट
४
जीन्दगीभर दुख मात्रै, न खुशी न घर हुन्छ
बेलैमा पाठ नसिके जीवन केवल कहर हुन्छ
रुचि अनुरुप सिप सिके, अध्ययनमा लगानी गरे,
काम पनि सरल मिल्छ, कमाई पनि दोब्बर हुन्छ l
-संजय घिमिरे/बुटवल
५
अभिभावकका सुस्पष्ट मार्गदर्शन लत्याउनेहरू
‘विदेशी रूखमा डलर फल्छ’भन्दा पत्याउनेहरू
सपनाको उडान भर्दै देशलाई आँसुमा डुबाउँदै
जुठा भाँडा मस्काउँछन् आमालाई अत्याउनेहरू l
-भुषन जङ्ग/ललितपुर
काठमाडौंमा संचालित ‘फोटोमा मुक्तक प्रतियोगिता’को एक सय १७० औं शृङ्खला सम्पन्न भएको छ। फोटोमा मुक्तक प्रतियोगिता कार्यक्रम काठमाडौंका सुनिल अधिकारीद्वारा परिकल्पना गरिएको नेपाली साहित्यको मुक्तक विधालाई उन्नयन र प्रवर्द्धन गर्नको लागि सुरुवात गरिएको कार्यक्रम हो।
प्रत्येक शृङ्खलामा ५ जना मुक्तककारलाई विजेता घोषणा गर्ने गरिन्छ। तिनै विजयी पाँच जना मुक्तककारका ५ वटा मुक्तकहरु फोटोमा मुक्तक प्रतियोगिताको एक सय ६४ औं शृङ्खलाबाट कनका खबरको अनलाइन पत्रिकाबाट छपाइँदै आइएको छ।
आज एक सय ७० औं शृङ्खलामा विजयी हुन सफल मुक्तककारका मुक्तकहरु प्रकाशित गरिएको छ। जय साहित्य, जय मुक्तक !
कनका खबर । २०८१ बैशाख २४