जुम्लाको सबैभन्दा ठूलो ताल गिडीदहको प्रचारप्रसारका निम्ति गरिएको गिडीदह सम्मेलन भएको दुई वर्ष अवधिमा भएका गतिविधिहरु सार्वजनिक गरिएको छ।
तातोपानी गाउँपालिका -४ को आयोजनामा भएको कार्यक्रमबाट हलसम्मका प्रगतिहरु सार्वजनिक गरिएको हो।
गिडीदहको प्रचारप्रसारका निम्ति पत्रकारले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा देखाएको क्षमता प्रशंसनीय रहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसादा चौलागाईंले बताए।
उनले भने, ‘अब गिडीदहसम्म पुग्न सहस संयन्त्रको निर्माण गर्ने तयारी गरिरहेका छौं। एकै पटक सबै काम गर्न सकिदैन। हामी लागिरहेका छौं।’
तालको नापजाँच, पदमार्ग निर्माण, गिडीदह प्रवर्द्धन कार्यक्रम, गिडीखोला, भलखोला, फुल्चाउँले, लामाचौर हुँदै गिडीदह जाने सडकको डिपीआर, वातावरणीय प्रभाव मूल्यांकन, गिडीदह धर्मशाला निर्माण लगायत गतिविधि गरिएको तातोपानी -४ का वडा अध्यक्ष अमर रोकायाले बताए।
‘भविष्यमा हाँकुमा करिब ४५ मिटर लामो पक्की पुल निर्माण गर्ने, पाण्डेवाडा गिडीखोला नदीमा करिब ३० मिटर नदीमा बेलीवृज, ऐरेनी देखि भलखोला फुलचौले लामाचौरसम्मको २० किलोमिटरको सडक निर्माण गर्ने, फुलचउल्या लामाचउर पाटन क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने, फुलचउल्यामा सुविधायुक्त धर्मशाला निर्माण गर्ने, सञ्चार सुविधाका लागि मोबाईल टावर र ईन्टरनेटको व्यवस्था गर्ने र सकेसम्म गिडीदह भ्युटावर समेत निर्माण गर्दा भविष्यमा पर्यटक भित्र्याउन सहज हुनेछ,’ उनले भने।
गिडीदहमा यातायातको सुविधा भन्दा पनि स्तरीय पदमार्ग निर्माण गर्न विज्ञहरुले दिएको सुझावलाई आधार मानी प्रचारप्रसारका गतिविधिहरु गर्नुपर्ने तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवत रावलले बताइन्।
गिडीदह निकट भविष्य उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने नागरिक अगुवा दुर्गा प्रसाद पाण्डेको भनाइ छ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले आफ्नो भूगोलको क्षेत्र भित्र रहेको र पालिकाको हिसाबले गिडीदहको प्रचारका निम्ति लागेको भन्दै तातोपानी -४ का वडा अध्यक्ष अमर रोकायाको प्रशंसा गरे।
तातोपानीले निरन्तर एउटा परियोजना बनाएर गिडीदहको प्रचारमा लाग्नु सह्रानीय कदम भएको नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष नेत्र बहादुर शाहीको मत छ।
कार्यक्रममामा गिडीदहको प्रचारका निम्ति भएको खर्च समेत सार्वजनिक गरिएको छ। व्यवस्थापनमा तीन लाख ७५ हजार र भिडियो डकुमेन्टीका निम्ति २५ हजार खर्च भएको वडा अध्यक्ष रोकायाले बताए।
काठमाडौं विश्वविद्यालयले गरेको अध्ययन प्रतिवेदनअनुसार गिडीदहको कुल लम्बाइ एक हजार पाँच सय १० मिटर रहेको छ। चौडाइ तीन सय १० मिटर, गहिराइ ४३.३ मिटर रहेको छ भने गहिराई ४२.८ मिटर रहेको छ। समुद्री सतहदेखि ३४८५ मिटर उचाइमा फैलिएको गिडीदह कर्णालीको दोस्रो अग्लो उचाइमा रहेको ताल हो।
महेश नेपाली । २०८१ असार २९