साँचो कुरा लुकाई झूट बोल्न थाल्छ मान्छे
पानी पिएर कहिले पानी निकाल्छ मान्छे
व्यवहारले नसक्ने सिन्को समेत भाँच्न,
चिल्ला मिठा कुराले तारा खसाल्छ मान्छे
ठट्टा गरी कसैले कालो भनोस् न मात्रै,
अनुहार हेर्छ आफ्नो ऐना फुटाल्छ मान्छे
एकदिन डसेर पक्कै मार्नेछ बुझ्नुपर्थ्यो,
व्यर्थै पिलाउँदै दूध किन सर्प पाल्छ मान्छे
मनमा अनेक मैलो बोकेर बाँच्न थाल्यो,
साबुन र पानीले तन हरदम पखाल्छ मान्छे
बोल्दैन नाथ कहिल्यै सुन्दैन एक बिन्ती,
अर्पेर फूलभेटी दियो नि बाल्छ मान्छे
भन्छन् निकै कुशल छौ उसले छोड्यो के कारण,
के कोहिनुर भेटाए ढुङ्गो अँगाल्छ मान्छे
कुशलनाथ योगी । २०८१ जेष्ठ २६