जुम्ला । कर्णालीको कठ्याङ्ग्रिने जाडोमा अति विपन्न बालबालिकाका लागि न्यानोको सन्देश बोकेर एक्सन नेपाल टिम र मिस्नरी बिष्णु बुढ्थापाले जुम्लाका दुई आवासीय विद्यालयमा सामग्री वितरण गरेका छन् ।
चिसो मौसमलाई मध्यनजर गर्दै जनता माध्यमिक विद्यालय र हिमाली रम्बा आवासीय आधारभूत विद्यालय चाेत्राका विद्यार्थीलाई पोसाक तथा ओढ्ने–ओछ्याउने सामग्री हस्तान्तरण गरिएको हो ।
क्रिसमस र नयाँ वर्ष २०२६ को शुभ अवसर पारेर गरिएको कार्यक्रममा ज्याकेट, सिरक, डसना र सिरानी वितरण गरिएको छ । सहयोग पाएका अधिकांश विद्यार्थी अति विपन्न, असहाय तथा टुहुरा रहेका छन् ।
जाडोका कारण दैनिक पठनपाठनमै असर परिरहेका बेला गरिएको यो सहयोगले विद्यार्थी र अभिभावकमा खुसी छाएको छ । मिस्नरी बिष्णु बुढ्थापाका अनुसार, व्यक्तिगत भेटी संकलन गरी बालबालिकालाई न्यानो बनाउने उद्देश्यले सामग्री जुटाइएको जानकारी दिए ।
उनले भने, दिनदुखी र कमजोर वर्गका बालबालिकाको जीवनमा सानो भए पनि राहत मिलोस् भन्ने सोचले यो काम गरेका हाै । उनका अनुसार जनता माध्यमिक विद्यालयमा ३० जना अशक्त विद्यार्थीलाई सिरक, डसना र सिरानी वितरण गरिएको छ ।
त्यसैगरी बुधबार हिमाली रम्बा आवासीय आधारभूत विद्यालय चाेत्राका करिब ४० जना विद्यार्थीलाई ज्याकेट, टोपी सहित सिरक, डसना र सिरानी प्रदान गरिएको हो । जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक हरिकृष्ण महतले सहयोग प्रति आभार व्यक्त गर्दै चिसो मौसममा यस्ता सामग्री अत्यन्त आवश्यक रहेको बताए ।
जाडोका कारण विद्यार्थी बिरामी पर्ने जोखिम बढ्छ । यो सहयोगले उनीहरूको स्वास्थ्य र अध्ययन दुवैमा सकारात्मक प्रभाव पार्ने प्रधानाध्यापक महतले प्रतिक्रिया दिए ।
सहयोग कार्यक्रममा सहभागी एक्सन नेपाल टिमका सदस्यहरू तथा पास्टर मंगल ऐडीले मुदाय सँग हातेमालो गर्दै मानवीय सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाए । प्रभु येशु ख्रिस्टको सम्झनामा, प्रेम र करुणाको सन्देश फैलाउने उद्देश्य सहित यो कार्यक्रम आयोजना गरिएको उनीहरूको भनाइ छ ।
स्थानीय बासिन्दाले यस्ता सहयोगले समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गरेका छन् । कर्णाली जस्तो दुर्गम र चिसो क्षेत्रमा सानो सहयोगले पनि ठूलो अर्थ राख्ने भन्दै आगामी दिनमा अन्य संघ संस्थालाई पनि यस्ता मानवीय कार्यमा अघि बढ्न आग्रह गरिएको छ।











कनका खबर । २०८२ पुष ४