“कृष्ण सरलाई अलि सञ्चो छैन् । त्यसैले आज उहाँले तपाईंहरूको क्लास लिन सक्नुहुन्न” – सुशीलाले खिन्न हुँदै भन्छिन् । “कृष्ण सरलाई के भएको छ र मेडम ?” रोहितले अन्कनाउँदै सोध्छ । खै के भयो “एक हप्तादेखि ज्वरोले थलाएको छ । ज्वरो घट्दै घटेन ।” सुशीला अझैं निराश हुँदै भन्छिन् । अनि “डाक्टरलाई देखाउनुभएको छैन त मेडम ? अनिशा पनि अघि सर्दै सोध्छिन्। “देखाएको त हो नि” औषधि पनि खाई राख्नु भाकाे छ। तर खै औषधीले पनि काम गरेको जस्तो छैन, नत्र त ज्वरो अलिकति भए पनि त छुट्नु पर्ने हो नि, सुशीला शून्यतामा आँखा फैलाउँछिन् । ट्यूसन पढ्न आएका विद्यार्थी एकआपसमा हेराहेर गर्छन् । “कृष्णसरलाई चाँडै निको होस् ! हामी भगवान्सँग यही प्रार्थना गर्दछौँ । अहिलेलाई हामी जान्छौँ,” रोशनीले भनिन् । र सबै जना निराश भाव बोक्दै फर्कन थाल्छन् । कृष्ण सर एउटा इमानदार लगनशील र नैतिक मूल्यमा अडिग शिक्षक थिए । जोसँग ट्यूसन पढेमा अवश्य उत्तीर्ण हुन्छ भन्ने विश्वास कायम भएको, कलेजको सबैभन्दा इमानदार टिचर थिए । जबजब परीक्षा नजिक आउँथ्यो तब तब कृष्णसरको घर खोज्दै खोज्दै विद्यार्थीहरूको ओइरो लाग्थ्यो । “बाहिर केको हल्ला सुशीला ?” कृष्णसर सकी नसकी ओछ्यानबाट उठ्न खोज्छन् । “भो भो ! उठ्नु पर्दैन, मैले फर्काइसकेँ ।” सुशीलाले लोग्नेतर्फ हेर्दै भन्छिन् । “किन फर्कायौ त ! बिचराहरूको जाँच नजिकै आइसक्यो । म पढाउन सकिहाल्थेँ नि,” सुस्तरी स्वास्नी तर्फ हेर्दै भन्छन् । “यस्तो बिरामी भएको बेलामा पनि पढाउने कुरा गर्नुहुन्छ ।” सुशीला थोरै झर्किन्छिन् । कृष्णसर चुप लाग्छन र फेरि ओछ्यानमा पल्टिंदै सोध्छन्, “अनी अनु स्कुल गइसकिन् त ? नौ बजिसक्यो ।” “अघि नै पठाइसकेँ,” सुशीला लोग्नेतर्फ हेर्दै भन्छिन्। सुशीलालाई आज पटक्कै निद्रा लाग्दैन । कहिले यता कोल्टो पर्छिन् त कहिले उता कोल्टो पर्छिन् ।
आँखा एकाएक रसाउन थाल्छन् । मुटुभरि पीडा भरिएर आउँछ । एकचोटि लोग्नेको अनुहार हेर्छिन् र मनमनै भन्छिन्, “हे ! भगवान् ! यो के भयो ?” बिस्तारै सुतिरहेको लोग्नेको मुहार हातले स्पर्श गर्छिन् । “के भयो तिमीलाई ?” निद्राबाट बिउँझिएर श्रीमतीको रुन्चे अनुहार हेर्दै सोध्छन् । तिनी हतपत आँखाको आँसु पुछि मुस्कुराउने प्रयास गर्दै भन्छिन्, “केही हैन ।” “कति पीर गर्छौ है तिमी, मलाई केही हुँदैन क्या ! यो ज्वरो त दुई चार दिनमा आफैं निको भैहाल्छ नि, अनि त म पढाउन जान पनि सक्छु ।” श्रीमतीलाई सम्झाउने प्रयास गर्दै पुनः सोध्छन् अनी “डाक्टरको रिपोर्टमा के रहेछ त ?” “केही पनि छैन रे !” आँखाको आँसु लुकाउन खोज्दै सानो स्वरमा उनी बोल्छिन् । मैले भन्दै थिएँ नि, मलाई केही पनि भएको छैन भनेर भयाे “सुत अब ! धेरै चिन्ता नगर । केही दिनमै मलाई निको भइहाल्छ नि । यो त धपेडीको ज्वरो हो क्या , बुझ्यौ नी ।” श्रीमतीलाई सम्झाउने प्रयास गर्दै कृष्ण सर भन्छन् । सुशीला बिस्तारै आँखाको आँसु पुस्छिन् र ‘हस्’ भन्दै कोल्टो पर्छिन् । तर निद्रा भने अँझ पनि पटक्कै लाग्दैन । बिस्तारै लोग्नेतर्फ फर्किन्छिन् र लोग्नेको स्वाभिमानीप्रति नतमस्तक हुन्छिन् । लोग्ने प्रति अथाह माया उम्लेर आउँछ । निद्रामा मस्त हराएको लोग्नेको अनुहार उनी एकनाशले हेरि रहन्छिन् । हेर्दा हेर्दै अतीतको सागरमा चुर्लुम्म डुब्न पुग्छिन् । सुन्नुहोस् त “नीरविक्रम थापाको घर यही हो ?” ढोकामा शालीन व्यक्तित्वले भरिपूर्ण व्यक्ति उभिएको देखी सुशीला अकमक्क पर्छिन् । “माफ गर्नुहोला, यो नीरविक्रम थापाको घर हो नि ?” आफ्नो अगाडि एक युवती आफूलाई टोलाएर हेरिरहेको देखेर पुनः सोध्छन् । सुशीला हडबडाउँदै भन्छिन्, “हो, हो यही हो ! अनि तपाई को नि ?” प्रश्नवाचक दृष्टि फ्याँक्छिन् । “म कृष्णप्रसाद ढुङ्गाना । ट्यूसन पढाउन भनि आएको ।”
एकछिन रोकिन्छन् र पुनः भन्छन्, “हिजो नीरविक्रम जीले छोरीलाई ट्यूसन पढाउनका लागि भन्नुभएको थियो । त्यही भएर आएको, उहाँ हुनुहुन्न ?” कृष्ण सर मुस्कुराउँदै भन्छन् । सुशीला एकटकसँग मुस्कुराउँदै हेरि रहन्छिन् । त्यत्तिकैमा भित्रबाट कल्याणी कराउँदै आउँछिन्, “बाहिर को आएको हो दिदी ?” कृष्ण सरलाई ढोकामा उभिएको देख्छिन् र हतपत्त “नमस्ते सर” भन्छिन् । सुशीला अवाक्क हुन्छिन्, के गर्ने के नगर्ने होसै हुँदैन। “भित्रै आउनोस् न सर” कल्याणी कृष्ण सरलाई आग्रह गर्छिन् । अनि सुशीला तर्फ हेर्दै भन्छिन्, “दिदी, उहाँ हाम्रो कलेजको अङ्ग्रेजी पढाउने सर । र फेरि कृष्णसर तर्फ फर्कंदै भन्छिन्, “उहाँ चै मेरी दिदी, स्कुलमा टिचिङ गर्नुहुन्छ।” दुबै जना मुस्कुराउँदै एकअर्कालाई नमस्ते गर्छन् । “हामी दुबै जनाको प्रोफेसन एउटै रहेछ नी !,” कृष्ण सर हाँस्दै भन्छन् । सुशीला पनि मुस्कुराइ दिन्छिन् ।
कर्णेल नीरविक्रम थापालाई आफ्नी छोरी कुनैपनि शिक्षक कहाँ गएर ट्यूसन पढेमा आफ्नो इज्जत कम हुन्छ भन्ने सोच थियो । त्यसैले उनले कलेजका शिक्षक कृष्ण सरलाई, होम ट्यूसन पढाउनका लागि राम्रै रकमको अफर गरेका थिए । गाउँबाट पढ्न आएर यहाँ जागिर खाई आफ्नो जीवनयापन गरिरहेका कृष्ण सरलाई उनको मेहनतको उचित कदर थियो यो । एक घण्टाको ट्यूसनले उनको डेरा भाडा सजिलै तिर्न सकिन्थ्यो । त्यसैले यस्तो प्रस्तावलाई उनले तिरस्कार गर्ने त कुरै थिएन । त्यसपछि कल्याणीलाई पढाउँदा पढाउँदै त्यस घरमा कृष्ण सरलाई राम्रै सम्मान हुन थाल्यो । सुशीला हर दिन उनको ख्याल राख्थिन् । अब त उनलाई आफ्नै घरजस्तै लाग्न थालेको थियो । कहिलेकाहीँ त बेलुकीको खाना पनि त्यहीँ खाएर डेरा फर्किन्थे उनी, किनकि सुशीला साह्रै कर गर्थिन् । सुशीलाको मन राख्न पनि उनले खानै पर्थ्यो । कहिलेकाहीँ उनी अचम्ममा पर्थ्ये, “किन सुशीलाले मेराे हरेक कुरामा विचार पुऱ्याउँछिन् ? किन मेरो यति धेरै ख्याल गर्छिन् ? कहीँ मप्रति आकर्षित त भएकी हैन उनी ?” कृष्ण सर मनमनै गुनगुनाउँथे “तर, यत्रो धाकरवाफ भएको परिवारको छोरीले म जस्तो साधारण गरीब शिक्षकलाई के मन पराउली र ?” भन्दै मनमा कुरा खेलाउँथे । सुशिला कहिलेकाहीँ स्कुलबाट छुट्ना साथ हतपत्त लुगा न फेरि कन कृष्ण सरले कल्याणीलाई पढाइरहेको कोठामा पुग्थिन् र कृष्ण सरसँग कुरा गर्न अघि सर्थिन् । कल्याणी यो सबै देखेर जिल्ल पर्थिन्, र मन् मनै सोच्थिन, “हैन के भएको होला यो दिदीलाई पनि ? आफ्नो यहाँ जाँच आइसक्यो । यसो ट्यूसन राम्राे पढेर राम्रो अंक ल्याउँछु भनेको, दिदी आएर डिस्टर्ब गरिहाल्छिन् ।” सरलाई पनि कुरामा भुलाउँछिन् । एकदिन त कल्याणीले भनि हालिन्, “दिदी पहिले लुगा फेरिस्यो। मेरो अझै एउटा टपिक्स बाँकी छ । हैन सर ?” कृष्ण सरलाई हेर्दै भन्छिन् । कृष्ण सर केही नबोली चुपचाप बसि रहन्छन् । यसरी नै समय बितिरहेको थियो, कृष्ण सर प्रतिको आकर्षणले सुशीला दिन प्रतिदिन बदलिँदै गइरहेकी थिइन् ।
एकदिन कृष्ण सर ट्यूसन पढाउन आएनन् । त्यस दिन स्कुलबाट आउनासाथ सुशिला कल्याणीको कोठामा पसिन्, त्यहाँ कृष्णसरलाई नदेखेपछि अचम्म पर्दै कल्याणीसँग सोधिन् । कल्याणीले कृष्ण सरलाई ज्वरो आएको बताएपछि, कल्याणीलाई फकाउँदै कृष्ण सरको डेरामा हर्लिक्स लिएर गएकी थिइन् । यसरी एकदिन पनि कृष्ण सरलाई देखिनन् भने पानी बिनाको माछाझैँ छटपटिन्छिन्, सुशिला । भनौँ तिनको मनमा कृष्ण सरप्रति माया मौलाउँदै गएको थियो । घरमा सुशीलाको बिहेको कुरा चल्न थाल्यो । एक से एक घरानियाँ केटाहरूको कुरा आयो तर अहँ सुशीलाले कसैलाई पनि मन पराइनन् । कारण एउटै थियो उनीले कृष्ण सरलाई नै आफ्नो मनमा सजाई सकेकी थिइन् । यो सब देखेर तिनका बाबुआमा छक्क पर्थे आखिर “छोरीले किन कसैलाई पनि मन पराउँदिनँ ?” भनेर । एकदिन निरबिक्रम थापाले आफ्नी श्रीमति यानिकी सुशीलाको आमालाई भने, “हैन ! छोरीले किन बिहे गर्न मानिरहेकी छैन ? छोरीले कसैलाई मन पराएकी छिन् कि ! तिमी यसो कुरा बुझ न । मन् परको रछिन् र राम्रो खानदानी रहेछ भने हामी तिनले मन पराएको केटासँगै बिहे गरिदिउँला नी, हुन्न ?” तर सुशीलाले डरले केही कुरा खोल्न सकिनन् । दसैंमा कृष्णसर पढाउन आएनन् । सुशीलालाई साह्रै छटपटी भयो, अनि कल्याणीसँग सोध्न गइन् “हैन ए कल्याणी तैँले दसैँमा म पढ्दिन भनिस् कि क्या हो ? कृष्णसर त पढाउन आउनु भएन त ?” कल्याणीले पनि ठट्टा गर्दै भनिन्, “हैन यो दिदी पनि के भइस्या होला । दसैँमा पनि कोही पढ्छ र ?” दिदीको अनुहार एकटकले हेरि रहिन् ।
सुशीलाले अलि रिसाएको अभिनय गर्दै भनिन्, “दसैँ भन्दैमा नपढेर हुन्छ । एक घण्टा पढेर के हुन्छ । बोला कृष्ण सरलाई, उहाँलाई कस्तो बोर भाको होला ।” “अँ होला? बरु कृष्णसर नआएकोमा हजुरलाई चै बोर भाको जस्तो छ नि।” कल्याणीले ठट्टा गर्दै आँखा झिम्काइन् । “नकरा नेफ्टी, तँ जाँचमा राम्रो नम्बर ल्याउँछेस् भनेर पो भनेकी त!” बनावटी रिस देखाउँदै हकारिन् । “सरी क्या दिदी ! जिस्काएकोमा पनि रिसाइसिन्छ ।” कल्याणीले सुशीलाको हात समाउँदै भनिन्, “ल ! ल !! भैगो । बोला कृष्णसरलाई । आजैदेखि पढ् फेरि।” सुशीलाले आदेशात्मक आवाजमा भन्छिन् । “ल ! दिदीलाई त थाहा नै छैन की क्या हो, कृष्णसर त दसैँलाई घर जानुभएको छ । अब दसैँ सकिएपछि मात्र आउनुहुन्छ ।”
कल्याणी (खितिती) ! हाँस्दै बाहिरिन् । सुशीला जिल्ल परिन्, साह्रै नरमाइलो लाग्यो । दसैँमा पनि खासै उत्साहित हुन सकिनन्, केवल कृष्णसरको प्रतिक्षामा बस्न थालिन् । दसैँ पनि सकियो, सुशीलालाई कहिले कृष्णसरलाई भेट होला भन्ने व्यग्रता थियो । उनको दिलो दिमागमा कृष्ण सरले आशन जमाइ सकेका थिए । उनको मनमा कृष्णसरप्रति प्रेमको मुना पलाएको थियो । कृष्ण सरको शालिन व्यक्तित्व देखि प्रभावित भएकी थिइन्, उनी । कुनै धाकरवाफ नभएको मृदुभाषी कृष्णसरलाई सुशीलाले हृदयदेखि नै मन पराइसकेकी थिइन् । उनीलाई आफ्ना आमाबाबुले ल्याएको कुनै पनि केटा जो सम्भ्रान्त घरका डाक्टर, इन्जिनियरहरू हुन्थे तर कृष्ण सरको अगाडि उनीलाई सबै फिक्का लाग्थे | सुशीलाले मनमनै अठोट गरिसकेकी थिइन् कि कृष्णसरसँग नै सारा जीवन बिताउने भनेर। धनी नभएर के भो र ?
काठमाडौंमा घर नभएर के भो र ? यस्तो असल केटा त लाखौँमा एक हुन्छन् । उनी मनमनै सोच्ने गर्छिन्, तर आजसम्म कृष्ण सरलाई भने भन्न सकेकी थिइनन् । मनमनै कता कता उनीलाई डर पनि लागेर आउँथ्यो, कि कतै कृष्णसरले तिरस्कार गरिदिने पो हो कि भनेर । फेरि आफैमा विश्वस्त हुन्थिन्, “म मा पनि के कमी छ र ! राम्री छु ! पढेलेखेकी छु !! म जस्ती पाउनु पनि त कृष्णसरको भाग्य नै हुनुपर्छ,” मनमनै घमन्डले फुल्थिन् । दसैँपछि आए भने त अवश्य पनि आफ्नो मनका कुरा राख्छु, अनि मात्रै बुबाममीलाई भन्नुपर्ला । अहिले नै कसरी भन्ने होर म कृष्णसरसँग बिहे गर्न चाहन्छु भनेर । पछि कृष्णसरले वास्ता गरेनन् भने त मेरो बेइज्जत नै हुन्छ ।
सुशीलाको मनमा अनेकौँ शङ्का उपशङ्काले घेर्न थाल्छन् । मैले केही समय प्रतिक्षा गर्नै पर्छ । मनमनै अठोट गर्छिन् । कता कता डर लागेर आउँछ । मुटुको धड्कन तेज हुँदै गएको भान हुन थाल्छ । बिस्तारै आँखा चिम्लिन्छिन् अनि फेरी कृष्ण सरसँगको प्रेमको अनुभूतिमा रङ्गिँदै जान्छिन् । एकदिन सुशीला स्कुलबाट फर्केर लुगा फेरिरहेकी थिइन् । त्यतिकैमा टिरीरी गेटको कलबेल बज्यो, आमाले भान्छाबाट हकारिन् । “सुशीला हेर त त्या बाहिरको आएको रहेछ?” सुशीला हत्तपत्त लुगा फेर्दै ढोका खोल्न गइन् । ढोकामा कृष्णसर मुस्कुराइ रहेको देखेर सुशीला खुसीले गद्गद् भइन् । हर्षले तिनको मन नाच्न थाल्यो । चारैतिर रङ्गैरङ्ग देख्न थालिन्। कृष्ण सरले नमस्ते गर्दा पनि ट्वाल्ल परेर हेरि रहिन् । कृष्णसरलाई के गर्ने के नगर्ने भयो । भित्र भान्साबाट आमा निस्कनुभयो र कृष्ण सरलाई देखेर खुसी हुँदै भन्नुभयो “ए कृष्णबाबु ! भित्रै आउनुस् न । किन ढोकामै उभिनुभएको ?” आमाको कुरा सुनेर सुशीला झसङ्ग हुन्छिन् र हत्तपत्त समालिँदै भन्छिन्, “भित्रै आउनुस् न सर ।” कृष्णसर सरासर गई सोफामा थचक्क बस्छन्, सुशीला पनि कृष्णसरलाई हेर्दै अघिल्तिर सोफामा बस्छिन् । “अनि बाबु, घरबाट कहिले आउनुभो त ?” आमाले खुसी हुँदै सोध्छिन्, “आज बिहान मात्रै आएको नी आमा । कल्याणीको कोर्ष सकिएको थिएन, त्यही भएर अलि छिट्टै नै आएँ । अनि कल्याणी खोइ त ?” चारैतिर हेरी कल्याणीलाई नदेखेपछि सुशीला तर्फ हेर्दे सोध्छन् । “ल कल्याणी त आज साथीको घर गएकी छे । सर त पर्सितिर मात्र आउनुहुन्छ भन्दै थिई ।”
आमाले सुशीलातर्फ हेर्दै भन्छिन् । सुशीला चुपचाप सुनिरहेकी हुन्छिन्, उनी मनमनै सोच्छिन् । “यही उपयुक्त मौका छ कृष्ण सरसँग मनका कुरा खोल्ने, नत्र त कहिल्यै पनि कृष्ण सरलाई यसरी एक्लै भेट्ने मौका मिल्दैन । जहिले कल्याणी अगाडि हुन्छे । यस्तो अवसर फेरि जुर्ला न जुर्ला । आज बल्ल बल्ल यो अवसर जुरेको छ । कल्याणी पनि घरमा छैन । सुशिला मनमनै खुसी हुँदै आमातर्फ हेर्दै भन्छिन्, “मम्मी कृष्णसरलाई चिया लेराइस्यो न ।” ” हैन हैन पर्दैन, म गइहाल्छु। कल्याणी पनि रहेनछिन् अब भोलि आउँला नी ।” कृष्ण सर जानलाई उठ्न थाल्छन् । सुशीलालाई छटपटी हुन थाल्छ । आमातर्फ हेर्छिन् र इशारा मै चिया बनाइ दिनु भन्दै बिन्ती गर्छिन् । आमाले पनि सुशीलाको इशारा बुझे झैँ गरी बोल्छिन् ।
“एकैछिन् पर्खिनु न बाबु म चिया बनाएर ल्याउँछु । अलिकति तातो पेट पारेर जानु होला भन्दै आग्रह गर्छिन र सुशीला तर्फ हेर्दै भन्छिन्, सुशिला तिमी बाबुसँग कुरा गर्दै गर है । म चिया पकाएर ल्याउँछु” भन्दै आमा जुरुक्क उठ्छिन् र भान्छातिर लाग्छिन् । “एक छिन त बस्नोस् न । भर्खर त आउनु भयो । किन हामीसँग कुरा गर्न हुँदैन कि के हो ?” भन्दै हिम्मत गरेर कृष्ण सरसँग सुशीलाले आँखा जुधाउँछिन् । “हैन हैन, त्यस्तो केही हैन,” भन्दै हडबडाउँदै कृष्ण सर सोफामा थ्याच्च बस्छन् । एकछिनसम्म कोठामा सन्नाटा छाउँछ । दुबै चुपचाप, केवल हेराहेर मात्र गर्छन् । एकै छिनमा सुशीला नै मौनता भङ्ग गर्दै भन्छिन्- “म तपाईंसँग केही कुरा गर्न चाहन्छु, यदि तपाई स्वीकृति दिनुहुन्छ भने ?” कृष्ण सरलाई उकुसमुकुस हुन्छ, मनमनै सुशीलाले भन्न चाहेको कुरा बुझिसकेको हुन्छन् ।
त्यसैले केही उत्तर नदिई शून्यतामा टोलाइ रहन्छन् । सुशिला फेरि बोल्छिन् “ठीकै छ, सुन्न चाहनुहुन्न भने भो भन्दिनँ,” रिसाएझैँ गरी उठ्न खोज्छिन् । “हैन हैन, कृपया भन्नुस् न, म अवश्य नै सुन्न चाहन्छु ।” कृष्णसर हड्बडाउँदै सुशीलालाई रोक्न खोज्छन् । सुशीला साहस गर्दै भन्छिन्, “म तपाईंलाई प्रेम गर्छु, र तपाईं सङ्गै !” वाक्य बीचमै अड्किन्छ किनकि आमाले भान्छाबाट चिया लिएर आइरहेको देख्छिन्। आमाले चिया पहिला कृष्णसरलाई त्यसपछि सुशीलालाई दिन्छिन् । दुवै जना चिया पिउन थाल्छन् । दुवैको मुखबाट एक शब्द निस्कँदैन । दिनहरू यसरी नै बितिरहेका हुन्छन् । कृष्ण सरबाट केही उत्तर न मिले पछि सुशीलाको व्यवहारमा पनि परिर्वतन आउँछ । अब उनी पहिले जस्तो कल्याणीको कोठामा आउँदिनन् ।
एकदिन पढाउँदा पढाउँदै कृष्ण सरले सोध्छन्, “कल्याणी, तिम्रो दिदी खोइ त ? कतै देख्दिनँ नि ! घरमा हुनुहुन्न कि के हो ?” “खै सर, आजकाल दिदी हामीसँग पनि त्यति बोल्नु हुन्न । स्कुलबाट आएपछि ढोका थुनेर कोठामा बसिरहनुहुन्छ । केही भन्यो भने खाली रिसाउनु मात्र हुन्छ । अब त बोल्न पनि डर लाग्छ।” निरास हुँदै कल्याणी भन्छिन् । “के म तिम्रो दिदीलाई भेट्न सक्छु ? धेरै भो नभेटेको पनि । पहिले पहिले त यहीँ आएर कुरा गर्नुहुन्थ्यो । अहिले त खै मुखै देखाउनु हुँदैन । मसँग पनि रिसाउनु भएको जस्तो छ।” कृष्णसर खिन्न हुँदै भन्छन् । “दिदी आफ्नो कोठामै हुनुहुन्छ, जानोस् न त सर । के भएको रहेछ, कतै तपाईंलाई त केही भन्नुहुन्छ कि ।” “ल ! तिमी यो टपिक्स पढ्दै गर म एकचोटि भेटेर आउँछु है ।” कृष्णसर उठेर सुशीलाको कोठातर्फ लाग्छन् । आफ्नो कोठामा एक्कासी कृष्णसरको प्रवेशले सुशीला आश्चर्यचकित हुन्छिन्, र हत्तपत्त सोफातिर इसारा गर्दै बस्न आग्रह गर्छिन् । एकछिन दुबै जना मौन हुँदै एकअर्कालाई हेराहेर गर्छन् । कृष्णसरलाई सुशीलाको अँध्यारो अनुहारले दुःखी बनाउँछ । मनमनै सोच्न थाल्छन्, यिनै केटी कति खुसी हुन्थिन् मलाई देखेर, कस्तरी हाँस्दै हाँस्दै कुरा गर्थिन् मलाई देखेर तर आज मेरै कारणले उनको खुसीमा ग्रहण लाग्यो । सुशीलाकाे मलिनो अनुहार देखेर कृष्ण सरलाई साह्रै माया लागेर आउँछ, अनि हिम्मत गर्दै सम्झाउने प्रयास गर्छन्, “सुशीला, तिमीजस्तो केटी पाउन त मेरो भाग्य हो । तर म जस्तो केही नभएको केटालाई तिम्रो बाबुआमाले कदापि स्वीकार गर्ने छैनन् । तिमी मेरो बाध्यतालाई बुझ्ने कोसिस गर । तिमी मेरा लागि एउटा मीठो सपना सरि हौ । म तिम्रो लायक छैन सुशिला ।” कृष्ण सर एकदमै गम्भीर हुन्छन् ।
सुशीला केही नबोली भुइँतिर हेरि रहन्छिन् । उनलाई सुशीलाको मौनताले झन् गम्भीर बनाउँछ । त्यसैले अलि साहस गरी अघि बढी सुशीलाको बिस्तारै सुशीलाको हाथ समाती अझैं सम्झाउने कोसिस गर्छन् । “हेर सुशीला, म जस्तो डेरावाल, गाउँको मान्छेसँग तिमीलाई जिन्दगी बिताउन धेरै गाह्रो हुनेछ । म गरिब छु । मेरो गरिबीमा तिमी पनि पिल्सिने छौ । त्यसैले मैले भनेको मान, मलाई बिर्सने कोसिस गर । म तिमीलाई खुसी देख्न चाहन्छु । तर म जिन्दगी भर तिम्रो दुःखको कारण बन्ना चाहन्न । तिम्रो आमा बुबाले पनि हाम्रो सम्बन्ध स्वीकार्ने छैनन् । स्वीकारे पनि सधैँ हेला गर्नेछन् । तिरस्कार गर्नेछन् । अनी तिमीलाई धेरै दुःख हुनेछ । म त्यो दुःख हेर्न सक्दिनँ सुशिला । प्लिज सुशीला, केही त बोल ।” सुशीला बिस्तारै नजर उठाउँछिन्, र कृष्णसरको आँखामा आँखा झुधाउँदै भन्छिन्, “तपाईं मलाई खुसी देख्न चाहनुहुन्छ भने मलाई अपनाउनुहोस् कृष्ण सर । म तपाईंबिना बाँच्न सक्दिनँ । मेरो जीवनमा तपाईं बाहेक अरु कसैलाई कल्पना पनि गर्न चाहन्नँ म । मेरो मन् मुटुमा मैले तपाईंलाई सजाई सकेकी छु । बिन्ती मेरो प्रेमलाई यसरी नलत्याउनुहोस् … !” यती भन्दै सुशिला आँखा भरी आँशु टिलपिल पार्छिन् । “यदि तिमी खुसी हुन्छौ भने म तिमीसँग बिहे गर्न तयार छु । म पनि तिमीलाई त्यति नै प्रेम गर्छु सुशीला तर तिम्रो बुबाआमाका लागि यो सब मान्य हुने छैन । म जस्तो जाबो एउटा गरिब शिक्षकलाई ज्वाइँ बनाउन उहाँहरू अवश्य चाहनुहुन्न । यो कुरा बुझ र अर्को कुरा तिमीलाई भगाएर लान मेरो नैतिकताले दिँदैन । त्यसैले तिमी बुबा आमाको स्वीकृति लिन सक्छौ भने म तिमीसँग बिहे गर्न तयार छु ।” कृष्ण सरकाे मुखबाट यति सुने पछि सुशीला खुशीले गदगद हुन्छिन् र कृष्ण सरलाई कसेर अँगाल्न पुग्छिन् । “मलाई तपाईंको माया भए पुग्छ । अरू केही चाहिदैन” । कृष्णसरको छातीमा मुन्टो लुकाउँदै सुकसुकाउँछिन्। यो कुराले सुशीलाको घरमा भुइँचालो जान्छ । कर्णेलसाब रिसले आगो हुन्छन् । तर सुशीलाको हठको अगाडि केही लाग्दैन। सुशीलाले प्रतिज्ञा गर्छिन्, “यदि कृष्ण सरसँग बिहे गरीदिनु भएन भने भने आजन्मै कुमारी बसिदिन्छु । यसरी छोरीको ढिपीको अगाडि बाबुको केही लाग्दैन । नचाहँदा नचाहँदै पनि छोरीको बिहे कृष्णसरसँग गर्न बाध्य हुन्छन् । तर कर्णेल निरविक्रम थापाको मनमा भने कृष्णसरले छोरीलाई फकाएर जालमा पार्यो भन्ने हुन्छ । त्यसैले बेलाबेलामा अपमान गर्ने कोसिस गरिरहन्छन् । यो कुराले कृष्णसरको मनमा ठूलो धक्का पुग्छ । त्यसैले ससुराली जाने इच्छा नै गर्दैनन् । सुशीलाले धेरै फकाउनु पर्छ लोग्नेलाई माइत लग्न । एकदिन त कर्णेल साबले सुशिलाकै अगाडि कृष्ण सरकाे अपमान गर्दै भनेका थिए, बहिनीको बिहेको प्रसङ्गलाई लिएर, “कल्याणीको बिहे त जो पायो त्यहीसँग त गरिँदैन राम्रै खानदानी केटा खोजेर धुमधाम गरिन्छ ।” आफ्नो बुबाको यस्तो व्यवहारले सुशीला साह्रै मर्माहत भएकी थिइन् । आँखा रसाएर आएका थिए । तेस दिन देखि कृष्णसर ससुराली पनि कहिल्यै गएनन् । तर सुशीलालाई जान भने कहिल्यै रोकेनन्। टङ… टङ..टङ ! घडीले बाह्र बजेको सङ्केत गरेको थियो । सुशीलाको अतित छिन्नभिन्न हुन्छ । “के भयो सुशीला ? अझैं सुतेकी छैनौँ ? बाह्र बजिसकेछ !” आँखा मिच्दै कृष्णसर एकनासले टोलाएर बसेकी श्रीमती सुशीलालाई हेर्दै भन्छन् ।
सुशिला केही पनि बोल्न सक्दिनन्, मनभरि पीडाको अथाह सागर उमडिरहेको हुन्छ । आजसम्म लोग्नेसामु केही कुरा लुकाएकी थिइनन् । तर आज लुकाउन विवश भएकी थिइन् । दिउँसो डाक्टर कहाँ रिपोर्ट लिन जाँदाको त्यो क्षण झलझली सम्झना आउँछ, कत्रो पहाड मुटुमा राखेर उनिले सुनेकी थिइन् । जब डाक्टरले भन्दै थिए “कृष्णजीलाई क्यान्सर भएको छ ।” डाक्टरले अरू के के भन्दै थिए तर उनकाे आँखाअगाडि अँध्यारो छाएको थियो । भाउन्न भएर त्यही लड्ला जस्तो भएको थियो उनीलाई । सकिनसकी भित्तामा अडेस लिँदै थर्थराएर रिपोर्ट लिएकी थिइन् । आँखा आँसुले टम्म भरिएका थिए । ओठबाट बोली पनि फुट्न सकेकाे थिएन । केही नभनी सुस्तरी घरतर्फ पाइला चालेकी थिइन् । यस्तो कुरा लोग्नेलाई कसरी भन्नु ? त्यसैले भन्न सकेकी थिइनन् । आफ्नो प्रश्नको जवाफ नपाएपछि कृष्ण सर सुस्तरी ओछ्यानबाट उठ्दै, टोलाई रहेकी श्रीमतीको अनुहारमा सुमसुम्याउन पुग्छन् । सुशिला, “किन केही पनि बोल्दिनौ ? के भयो भन न प्लिज.. !” सुशीला बिस्तारै चल्मलाउँछिन्, आँखाको आँसु पुछ्दै भन्छिन्, “खै किन किन निन्द्रै लाग्दैन मन् त्यसै भारी भारी भएको छ।” लोग्नेको छातीमा मुन्टो अड्याउँदै सुकसुकाउँछिन्। कृष्णसर सान्त्वना दिँदै भन्छन्, “नरोऊ सुशीला, सब ठिक भैहाल्छ । तिमी अलि धेरै नै पीर लिन्छौ । मलाई क्यान्सरले पनि तिमीबाट अलग गर्न सक्दैन । मैले सबै थाहा पाइसकेँ । यसको उपचार छ रे । मलाई डाक्टरले भनेको, अलिक समय मात्र लाग्छ रे, मैले सबै कुरा बुझिसकेँ । तिमी पीर नलेऊ ! चाँडै सब ठिक हुन्छ ।” सुशीलालाई अँगालोमा कस्दै कृष्ण सर भन्छन् । सुशीला आश्चर्यचकित हुँदै लोग्नेको अनुहार केलाउन पुग्छिन् ।
हरिश कल्पित । २०८१ बैशाख २२