तातोपानीका दुई वर्ष: गिडिदहको क्षेत्रफल सार्वजनिक देखि लोकप्रिय योजनासम्म

तस्बिर: मान बहादुर कुँवर नयाँ कर्णाली

जुम्लाको तातोपानी गाउँपालिकाले दुई वर्षको अवधिमा गरेका प्रगति सार्वजनिक गरेको छ। २०७९ को स्थानीय तहको निर्वाचन पछिको दुई वर्षमा तातोपानी गाउँपालिकामा भएको प्रगति सार्वजनिक गरिएको हो।

तातोपानी गाउँपालिकाले बुधबार एक पत्रकार सम्मेलन वर्दै आफ्ना दुई आर्थिक वर्षको अवधिमा सम्पादन भएको उत्कृष्ट काम सार्वजनिक गरेको हो। जुम्लाका ८ स्थानीय तह मध्यहरुमा तातोपानीले नमुना काम गर्न सफल भएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईंको दाबी छ।

‘असारे विकासलाई निरुत्साहित गरेको तातोपानीले हरेक वर्ष वर्षको वैशाख मसान्त भित्रै योजनाहरुको अन्तिम भुक्तानी दिने गरेको छ,’ अध्यक्ष चौंलागाईले, ‘समयको महत्वलाई ख्याल राख्दै लागू गरिएको तातोपानी टाइम्सलाई निरन्तरता दिन सक्नु हाम्रो उपलब्धि हो।’

उनका अनुसार तातोपानीमा श्रम संस्कृतिको विकास गर्न र योजनाहरुको लागत घटाउन तातोपानीमा शनिवार श्रमदान अभियान संचालन गरिएको छ।

मानसिक सन्तुलन गुमाई सडकमा भौतारिरहेका ६ जना नागरिकको उद्धार गरि पुर्नस्थापना गरिएको, पालिकाको आन्तरिक आयस्रोतबाट पालिकाको प्रशासनिक भवन निर्माण गरिएको र २५ वटा स्थानीय कानुन निमाएण गरि कार्यान्वयनमा ल्याएको अध्यक्ष चौंलागाईंले बताए।

‘विपन्न नागरिकका लागि नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रम लागु, वृहत स्वास्थ्य शिविर सञ्चालन, निशुल्क एम्बुलेन्स सेवा प्रदान, शैक्षिक कचहरी सञ्चालन गर्नुका साथै र विद्यार्थी शिक्षक अनुपातमा शिक्षक दरबन्दी मिलान गरिएको छ,’ उनले भने।

तातोपानी गाउँपालिका भित्र रहेका ३ हजार ३ सय घरधुरीको घर बिमा गरिएका र स्थानीय उपजमा आधारित दिवा खाजा कार्यक्रम लागु गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ।

यस्तै यो अवधिमा जुम्लाकै ठूलो र सुन्दर ताल गिडिदहको प्रचारप्रसार गर्न गिडीदह सम्मेल गरि क्षेत्रफल समेत सार्वजनिक गरिएको छ।

दुई आर्थिक वर्ष भित्रमा भौतिक पुर्वधार तर्फ १० वटा विद्यालय भवन, २ वटा वडा कार्यालय भवन, १ प्रशासकीय भवन, ३ वटा सार्वजनिक शौचालय, ३ वटा काठेपुल निर्माण, २ वटा झुलेंगे पुल, ७ किमि सडक निर्माण, २४ किमि गोरेटो बाटो निर्माण, २५२८ घरधुरीमा खानेपानी मर्मत तथा निर्माण गरिएको छ।

चालु आर्थिक वर्षमा योजना क्षेत्रमा ९९ प्रतिशत भौतिक प्रगति गरिए पनि विविध कारणले ५८ प्रतिशत मात्रै योजनाको अन्तिम भुक्तानी भएको तातोपानका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए।

‘योजनाको भौतिक प्रगति ९९ प्रतिशत छ, तर रोपाईँ, घरायसी कामको चटारो र यार्सा टिप्ने लहरले भुक्तानी भने कम भएको छ,’ उनले भने, ‘पालिकामा चालु आर्थिक वर्षमा ७ वटा योजनाहरु ठेक्का मार्फत सञ्चालन भएका छन्।’

प्रकाशित मितिः   २०८१ जेष्ठ १७ at 9:11 am 

  • कमेन्ट (Comment)