शहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन परियोजनासम्बन्धी अभिमुखीकरण कार्यक्रम जुम्लामा सम्पन्न

 नेपाल रेडक्रस सोसाइटी जुम्लाको आयोजनामा “शहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन परियोजना” अन्तर्गत एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय देशभर विभिन्न प्रकारका विपदका घटनाहरू बढिरहेका छन्, जुम्लामा समेत आगलागी लगायतका घटनाहरू दिनानुदिन घटिरहेका छन्। यस्ता सम्भावित विपदलाई रोकथाम गर्न तथा घटना घटेमा क्षति न्युनिकरण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गौरी नन्द आचार्य, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, चन्दननाथ नगरपालिकाका १० वटै वडाका सचिव, विभिन्न विद्यालयका शिक्षकहरू, सञ्चारकर्मी, नेपाल प्रहरी, नेपाली सेना, नगर प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीका कर्मचारीहरूको सहभागिता रहेको थियो।

नेपाल रेडक्रस सोसाइटी जुम्लाकी परियोजना अधिकृत ईस्वरा सुवेदीका अनुसार विपद् व्यवस्थापन तथा न्युनिकरणमा सहभागीहरूको महत्वपूर्ण भूमिका रहने भएकाले तदअनुसारका प्रतिनिधिहरूलाई कार्यक्रममा समावेश गरिएको हो। सहभागीहरूले समुदायस्तरमा सूचना तथा चेतना फैलाउने योगदान गर्ने भएकाले यस अभिमुखीकरण कार्यक्रमले सार्थकता प्राप्त गर्ने सुवेदीले विश्वास व्यक्त गरिन्।

कार्यक्रममा प्रकोप, विपद्, संकट, जलवायु परिवर्तनका असर लगायत विषयमा सहभागीहरूसँग छलफल गरिएको थियो। विपद् पूर्वतयारी कसरी गर्ने, तथा व्यवस्थापनका लागि अपनाउनुपर्ने गतिविधिबारे जानकारी प्रदान गरिएको थियो।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरी नन्द आचार्यले विपद् न्युनिकरणका लागि स्थानीय तहमा चेतनाको खाँचो रहेको बताए। उनले प्राकृतिक स्रोत साधनहरूको संरक्षण गरेमा विपद् नआउने धारणा व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले नागरिकको लापरबाही र गैरजिम्मेवारीपूर्ण क्रियाकलापका कारण धेरैजसो विपद् घट्ने गरेको बताए। यस्ता घटनाहरूको न्युनिकरण गर्न सबैले आफ्नो तह र क्षेत्रबाट सूचना प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।

नेपाल रेडक्रस सोसाइटीका सभापति लोक दर्शन श्रेष्ठले रेडक्रस सेवा मात्र गर्ने संस्था भएको उल्लेख गर्दै प्रकृति संरक्षण र विपद् न्युनिकरणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए। उनले भने, “आजको कार्यक्रममा सिकिएका कुराहरूलाई स्थानीयस्तरमा कार्यान्वयन गर्न सकेमा अवश्य पनि विपद् बाट जोगिन सकिन्छ।”

प्रकाशित मितिः   २०८२ बैशाख ४ at 9:47 pm 

  • कमेन्ट (Comment)