छाँयानाथ रारा नगरपालिकाले संघीय मन्त्रीहरुलाई रारा आउन नदिने

मुगुको छाँयानाथ रारा नगरपालिकाले संघीय मन्त्रालयका मन्त्रीहरुलाई रारा आउन निषेधित गरेको छ। नेपालकै ठूलो ताल रारा तालको विकास तथा प्रर्वद्वन गर्नको निम्ति नीति तथा कार्यक्रम र बजेटमा एक शब्द पनि नआएको कारण छाँयानाथ रारा नगरपालिकाले संघीय मन्त्रीहरुलाई निषेध गरेको हो।

देशकै गौरव मानिएको नेपालकै ठूलो ताल विकासको निम्ति संघीय सरकारले रारालाई उपेक्षित पारेको छाँयानाथ रारा नगरपालिकाका नगर प्रखुम विष्णु कुमारले बताए।

‘आव २०८१ /०८२ बजेट वक्तव्यमा रारा तथा साबिकको कर्णालीलाई सौतेनी व्यवहार गरेको कारण छाँयानाथ रारा नगरपालिकाको ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘त्यसैले गर्दा मन्त्रीहरुलाई निषेधित गरिएको हो। हाम्रा माननीयहरुलाई कुनामा थन्काएर बजेट पारित भएको छ। म युवा नेता भएको कारण यो विषयमा दुखी छु।’

उनका अनुसार रारा ताल सुगममा भएको भए यहाँ ठूला ठूला केवलकार बनिसक्थे। आजसम्म फाइप स्टार होटेल बनिसक्थे। विकट भएकै कारण केन्द्र सधैं अपहेलना गर्दै आएको छ। राराले नीति खोजेको छ बजेट खोजेको स्थानीय तहमा बजेट थोरै मात्रै हुन्छ। यो बजेटले नुनदेखी सुनसम्म गर्नुपर्ने हुन्छ।

जबसम्म रारालाई हेर्ने संघीय मन्त्रीहरुको दृष्टि फेरिन्न, रारालाई विकास गर्नुपर्छ भन्ने विचार फेरिन्न तबसम्म छाँयानाथ रारा नगरपालिकाले संघीय मन्त्रीहरुलाई औपचारिक रुपमा निषेधित गर्ने मेयर भामले बताए।

प्रकाशित मितिः   २०८१ जेष्ठ १७ at 8:19 am 

  • कमेन्ट (Comment)