कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘एक युवा, एक विरुवा’ नाराको राष्ट्रिय वृक्षारोपण अभियान २०८१ मनाएको छ।
अभियान अन्तर्गत प्रतिष्ठान प्राङ्गण, चन्दननाथ नगरपालिका र मालाभिडको कालिका मालिका मन्दिर क्षेत्रामा वृक्षारोपण गरिएको हो।
प्रतिष्ठानका वरिष्ठ सर्जन प्राध्यापक डा. शैलेश अधिकारीले पहिलो बिरुवा रोपेपछि वृक्षारोपण अभियान सुरु भएको थियोे।
उनले प्रतिष्ठानको प्राङ्गणमा जुम्ली पहिचानको रुपमा रहेको ओखरको बिरुवा रोपेपछि वृक्षारोपण अभियान प्रारम्भ भएको घोषणा गरिएको प्रतिष्ठानका सहप्राध्यापक निशान्त लामाले बताए।
प्रतिष्ठानको विभिन्न संकायमा अध्ययन गरिरहेका विद्यार्थीहरुको सक्रियतामा प्राध्यापक र विद्यार्थीहरु मिलेर वृक्षारोपण अभियान सुरु गरिएको हो।
बिरुवा रोप्नुका कयौं नाफा रहेको हुँदा विद्यार्थीहरु जागरुक भएर लाग्नु साह्रै राम्रो काम भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।
‘विद्यार्थीहरुको सक्रियतामा भएको वृक्षारोपण कार्यक्रम साह्रै उपयोगी र उपलब्धिमुलुक हुनेछ,’ उनले भने, ‘विद्यार्थीहरुले यस्तो खालको जानकारी राख्नु र गतिविधि गर्नु बढी रचनात्मक हुनु हो।’
उनका अनुसार वृक्षारोपण गरि संरक्षण गर्नाले वातावरण स्वच्छ रहनुका साथै मानव स्वास्थ्यलाई समेत सकारात्मक प्रभाव पर्छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुले सबैतिर गरि कुल एक सय ७७ वटा विरुवा रोप्ने कार्यक्रम रहेको प्रतिष्ठानका उपप्रध्यापक ओम काफ्लेले बताए।
‘वर्तमान समयमा अत्यधिक मात्रामा विस्तार भएको शहरीकरण र ओैद्यगिकरणले वातावरणमा नराम्रा असरहरु पारिरहेको छ।’
उपप्राध्यापक काफ्लेले भने, ‘मानवीय गतिविधिका कारण क्लाइमेट चेन्ज र ग्रिन हाउस इफेक्ट लगायतका समस्याहरु देखिरहेका छन्। यस्तो अवस्थामा प्रतिष्ठानका विद्यार्थीहरु वृक्षारोपण अभियानमा सरिक हुनु समग्र मानव समुदायप्रति संवेदनशील हुनु हो।’
एमबीबीएस, पब्लिक हेल्थ, फार्मेसी, नर्सिङ लगायतका संकायका विद्यार्थीहरुको सक्रियतामा राष्ट्रिय वृक्षारोपण अभियानलाई सफल पारिएको प्रतिष्ठानका विद्यार्थी दिलिप हरिजनले बताए।
उनका अनुसार एक युवा एक बिरुवा एनसेल र खाद्य तथा कृषि संगठनसँगको सहकार्यमा नेपाल युवा परिषद्को अभियान हो। ७७ जिल्लाका ७ हजार ७ सय युवाले ७ हजार रुख रोप्दै छन्।
‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को अवसरमा नेपाल हेल्थ कोर्प्स–केएएचएस र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उत्साही विद्यार्थीहरुले नेपाल युवा परिषद्को सहयोगमा ‘एक युवा एक बिरुवा अभियान’ कार्यक्रम आयोजना गरेका हुन्
विद्यार्थीले रोपेका बिरुवा उनीहरुले नै संरक्षण गर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानका रेक्टर डा. डबल धामीको भनाइ छ।
‘विद्यार्थीहरुले अध्ययनका साथसाथै यस्ता खाले अतिरिक्त क्रियाकलाप गर्नु आफू समाज र मानव समुदायका लागि हो भनि देखाउनु हो,’ उनले भने।
महेश नेपाली । २०८१ असार १४