दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट नतिजा निकाल्ने गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न मुख्यमन्त्री मंगलबहादुर शाहीले आग्रह गरेका छन् ।
खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले पदक हासिल गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम गर्न आग्रह गरेका हुन्।
आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै प्रदेश खेलकुद विकास परिषद्ले खेलाडीको बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ।
बन्द प्रशिक्षणको पहिलो चरणअन्तर्गत ब्याडमिन्टन र ह्यान्डबल खेलको प्रशिक्षण कार्तिक २२ गतेदेखि सुरु हुने भएको छ।
मुख्यमन्त्री शाहीले प्रतियोगितामा सहभागी हुने खेलाडीको तयारीलाई प्राथमिकता दिएर आवश्यक प्रशिक्षण, खेल सामग्री र व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने बताएका छन्।











कनका खबर । २०८३ कार्तिक २३