बहालवाला आईजीपी हटाएर नयाँ नियुक्ति : प्रहरीमा फेरि राजनीतिक हस्तक्षेपको आशंका

सरकारले नेपाल प्रहरीका बहालवाला महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि प्रहरी संगठनको व्यावसायिक स्वायत्तता, कानुनी शासन र राजनीतिक हस्तक्षेपको प्रश्न फेरि सतहमा आएको छ ।
सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यो निर्णयले प्रहरी नेतृत्व परिवर्तन गरेको मात्र छैन, करिब तीन दशकअघि तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई पदबाट हटाएर ध्रुवबहादुर प्रधानलाई आईजीपी बनाइएको घटनालाई समेत स्मरण गराएको छ ।

त्यतिबेला सरकारको निर्णय अदालतमा चुनौती दिइएको थियो । अहिले पनि पदावधि बाँकी रहँदै प्रहरी प्रमुखलाई हटाउने निर्णयले कानुनी परीक्षणको सम्भावना बढाएको छ । सुरक्षा मामिलाको संस्थागत दृष्टिले हेर्दा प्रहरी नेतृत्वको आकस्मिक परिवर्तनले संगठनको मनोबल, निर्णय प्रक्रियाको निरन्तरता र कमान्ड संरचनामा असर पार्ने सुरक्षा अधिकारीहरु बताउँछन् ।
यो सम्भावित जोखिम हो; यस निर्णयले शान्तिसुरक्षामा मात्र होइन नेपालको आन्तरिक सुरक्षामा समेत गम्भीर असर पार्ने पूर्वडीआईजी हेमन्त मल्ल बताउनुहुन्छ । यसले कानुनी शासन, विधि र पद्धतिलाई समेत धज्जी उडाएको पूर्वडीआईजी मल्ल बताउनुहुन्छ ।
‘प्रहरी संगठनलाई कमजोर बनाउने काम तत्कालीन आईजीपी रत्नशमशेर राणालाई हटाएर सुरु गरिएको थियो । यो संगठनमाथि हिजो पनि राजनीतिक रूपमा बलात्कार गरिएको थियो आज पनि यो सरकारले त्यही गरेको छ’ –डीआईजी मल्ल बताउनुहुन्छ ।
प्रहरी महानिरीक्षक कार्की पछिल्लो समय निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी विवादका कारण चर्चामा रहनुभएको थियो । २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो । निर्वाचन सुरक्षामा ४० दिन खटिएका उनीहरूलाई जवानसरह तलब, रासन र पोसाक उपलब्ध गराइएको थियो ।
पोसाक खरिदमा अनियमितता भएको आरोप उठेपछि संसद्को सार्वजनिक लेखा समितिमा यस विषयले प्रवेश पाएको थियो । समितिका सदस्य तथा सांसद खगेन्द्र सुनार र आईजीपी कार्कीबीच पनि यस विषयमा विवाद भएको विवरण सार्वजनिक भएको थियो । पोसाक खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको बताइएको छ ।
यसैबीच, बिचौलियाका रूपमा चर्चामा आएका इनम सापकोटासँग उच्च सरकारी तथा सुरक्षा अधिकारीहरूको सम्पर्कबारे सार्वजनिक भएका विवरणले पनि प्रहरी नेतृत्वमाथि प्रश्न उठाएको थियो । सापकोटासँगको संवाद र अनुसन्धानसम्बन्धी सूचना सार्वजनिक भएको विषयलाई लिएर प्रहरी संगठनभित्रै असहजता बढेको थियो ।
आईजीपी कार्कीले कात्तिक १२ गते प्रहरी नीति समन्वय समिति (पीसीसी) को आकस्मिक बैठक बोलाउनुभएको थियो । बैठकमा उच्च प्रहरी अधिकारी तथा सातै प्रदेशमा कार्यरत डीआईजीहरूलाई समेत सहभागी गराइएको थियो । करिब पाँच घण्टासम्म चलेको बैठकमा संगठनको छवि, व्यावसायिकता र आन्तरिक एकताबारे छलफल भएको थियो । त्यतिबेला प्रहरी नेतृत्वले आफूविरुद्ध भइरहेको प्रचारलाई ‘अनर्गल’ ठहर गर्दै संगठनको प्रतिष्ठा जोगाउन एकजुट हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मितिः   २०८३ कार्तिक २० at 8:38 am 

  • कमेन्ट (Comment)