नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीपंक्तिलाई आन्दोलनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
केन्द्रीय मुख्यालय च्यासलमा बुधबार आयोजित एक कार्यक्रममा ओलीले आन्दोलनकै माध्यमबाट शक्ति आर्जन हुने र आगामी निर्वाचन जित्न सकिने निष्कर्ष समेत सुनाएका छन् ।
‘यति असहज र अप्ठ्यारो स्थिति छ, आन्दोलन बाहेक अर्को कुराबाट हामी जान खोज्यो भने, आन्दोलन गर्ने आँट गरेनौं भने हामी सफल हुन सक्दैनौ,’ ओलीले भनेका छन्, ‘आन्दोलनले टिकाउने हो, आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो ।’
देशमा गुण्डाराज चलिरहेकाले पनि आन्दोलन अपरिहार्य बनेको उनको प्रष्टोक्ति छ । ‘हामी स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेका छौं । हामीले आन्दोलनकारी ढंगबाट बढ्नुको विकल्प छैन । अहिले होस् कि भोलि, तिहार छठपछि होस् कि हामी मानसिक रुपमा तयार भएर बस्नुपर्छ, भित्रभित्रै तयारी अवस्थामा रहनुपर्छ,’ ओलीले निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले आन्दोलनको चेतावनी दिएको यो पहिलोपटक भने होइन । जेनजी आन्दोलनबाट सत्ता गुमेपछि र २१ फागुनको निर्वाचनमा सर्मनाक पराजय बेहोर्नुपरेपछि आन्दोलनबाट राजनीतिक कोर्स बदल्ने चेतावनी दिँदै आएका छन् ।











कनका खबर । २०८३ कार्तिक १३