देशमा शान्तिसुरक्षा कायम गर्न सरकार क्रियाशील छ: गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्तिसुरक्षा कायम गर्न सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले देशमा अमनचयन र शान्तिसुरक्षा कायम राख्न गृह मन्त्रालय पूर्ण प्रतिबद्धताका साथ लागिपरेको बताउनुभयो ।
गृहमन्त्री गुरुङले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसद पनि उत्तिकै संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । “माननीयज्यूले उठाउनुभएका विषय निकै संवेदनशील छन् । कुनै व्यक्तिको परिवारको सदस्यको निधन हुँदा र त्यस विषयलाई बारम्बार सम्झाइरहँदा पीडित परिवारलाई शान्ति मिल्छ?” उहाँले प्रश्न गर्नुभयो ।
गृहमन्त्री गुरुङले छानबिनका क्रममा रहेका विषयमा अनुसन्धान जारी रहेकाले बाहिर टिप्पणी गर्न उपयुक्त नहुने बताउनुभयो । “यस विषयमा सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ,” उहाँले भन्नुभयो, “प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण माननीयज्यूहरूलाई यो विषय बारम्बार उठान नगर्न अनुरोध गर्दछु ।” यद्यपि उहाँले यस्ता विषयमा व्यक्तिगत रूपमा भेटेर पनि आफूलाई सोध्न सकिने बताउनुभयो ।

गृहमन्त्री गुरुङले निर्मला पन्त प्रकरणबारे भने थप टिप्पणी गर्न नचाहेको उल्लेख गर्नुभयो ।
यसैबिच, सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीको अभिव्यक्तिबाट आफूहरूको विधायकीय अधिकार हनन भएको महसुस भएको बताउनुभयो । प्रश्न गर्ने सांसद र त्यसको उत्तर दिने मन्त्रीको अधिकार संसदीय अभ्यासको स्वाभाविक प्रक्रिया भएको उहाँले स्मरण गराउनुभयो ।
फरक प्रसङ्गमा गृहमन्त्री गुरुङले मानसिक स्वास्थ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबिच आपसी समन्वय आवश्यक रहेको बताउनुभयो ।
“हाम्रो देशले धेरै उतारचढाव बेहोरेको छ । त्यसैले तीनै तहका सरकार मिलेर मानसिक स्वास्थ्यसम्बन्धी योजना बनाइरहेका छौँ,” उहाँले भन्नुभयो, “११६६ हेल्पलाइनमार्फत आत्महत्या रोकथामका लागि निरन्तर प्रयास भइरहेको छ ।”

प्रकाशित मितिः   २०८३ साउन २१ at 4:39 pm 

  • कमेन्ट (Comment)