रवि लामिछाने तीनदिने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जाने भएका छन्। उनको निजी सचिवालयका अनुसार लामिछाने पत्नी निकिता पौडेलसहित धनगढी हुँदै भारत प्रस्थान गर्ने कार्यक्रम छ।

सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको भारत भ्रमणबारे जानकारी दिएको हो। भ्रमण पूर्णतः निजी तथा पारिवारिक र आध्यात्मिक उद्देश्यमा केन्द्रित रहेको सचिवालयले जनाएको छ।
तीनदिने भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्ड राज्यअन्तर्गत नैनीतालमा रहेको प्रसिद्ध कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।

नैनीतालस्थित कैँची धाम बाबा नीम करौलीसँग सम्बन्धित प्रसिद्ध धार्मिक स्थल हो भने कामाख्या मन्दिर हिन्दू धर्मावलम्बीको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ।

प्रकाशित मितिः   २०८३ कार्तिक ७ at 9:18 am 

  • कमेन्ट (Comment)