प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो

भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाइसकेको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो पठाएको मंगलबार जानकारी गराएका हुन् ।
नेपालबाट विशेष दूत आएर भारतमा सरोकारवालाहरुसँग वार्ता गरेको विषयमा पनि एक पत्रकारले प्रश्‍न गरेका थिए । त्यस विषयमा आफूलाई जानकारी नभएको जयसवालले बताए ।

सोही पत्रकार सम्मेलनमा उनले चीनसँगको पूर्वसहमति अनुसार लिपुलेकसहित शिपकी ला र नाथू ला पासबाट सीमा व्यापार पुनर्सञ्चालन गरिने बताए । नेपाली भूमि लिपुलेकलाई भारतले आफ्नो दाबी गर्दै आएको छ ।
‘म तपाईंकहाँ एउटा प्रेस विज्ञप्तितर्फ ध्यान आकर्षण गराउन चाहन्छु । जुन यदि म गलत छैन भने, सन् २०२५ को अगस्ट १९ मा जारी गरिएको थियो। उक्त प्रेस विज्ञप्तिमा तपाईंले देख्नुभएको होला कि, दुवै पक्ष लिपुलेक, शिपकी ला र नाथू ला पास नामक तीनवटा निर्धारित व्यापारिक बिन्दुहरूबाट सीमा व्यापार गर्न सहमत भएका थिए। तपाईंलाई थाहा नै छ, यो निर्णय त्यतिखेरै लिइएको थियो र ती छलफलहरू हुँदा हामीले तपाईंलाई जानकारी गराएका थियौं। अब, सहमत भएका विषयलाई अगाडि बढाइँदैछ,’ चीनसँगको सीमा व्यापारबारे सोधिएको प्रश्‍नमा जैसवालले भने ।

प्रकाशित मितिः   २०८३ साउन १२ at 9:34 pm 

  • कमेन्ट (Comment)