दशौँ राष्ट्रिय खेलकुदका लागि जुम्लामा खेलाडी छनोट सुरु, उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य

आगामी मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाबाट खेलाडी छनोट प्रक्रिया सुरु भएको छ। मंगलबारदेखि जिल्ला सदरमुकाममा विभिन्न खेल विधाका महिला तथा पुरुष खेलाडी छनोट गर्न प्रतियोगिता सञ्चालन गरिएको हो।
छनोट प्रतियोगिताको कर्णाली प्रदेश सभाकी उपसभामुख यशोदा न्यौपानेले उद्घाटन गरेकी छन्। जुम्लाबाट राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने प्रतिभावान खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।
प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, बुद्धिचाल, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, उसु, बास्केटबल, फुटबल, कबड्डी, भलिबल र ह्यान्डबल लगायतका विधामा खेलाडी छनोट गरिनेछ।
उद्घाटन कार्यक्रममा उपसभामुख न्यौपानेले जुम्ला कृषि, पर्यटन र खस भाषाको उद्गमस्थलका रूपमा मात्र नभई खेलकुदको उर्वरभूमिका रूपमा समेत स्थापित हुँदै गएको बताइन्। विश्वकीर्तिमानी धावक हरिबहादुर रोकायादेखि सुनमाया, विश्वरूपा र राममायाजस्ता धावक जन्माएको जुम्लाले राष्ट्रिय खेलकुदमा आफ्नो क्षमता प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्।
उनले खेलाडी छनोटमा कुनै पूर्वाग्रह नराखी उत्कृष्ट प्रतिभालाई अवसर दिन आग्रह गरिन्।
कर्णाली प्रदेश खेल विकास परिषद्का बोर्ड सदस्य पंखबहादुर शाहीले छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा जोड दिए। “खेल क्षेत्रमा लगानी गर्नु भनेको स्वास्थ्य क्षेत्रमा लगानी गर्नु हो,” उनले भने, “जुम्लाबाट छनोट भएका खेलाडीले सुर्खेतमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ।”
उनले जुम्लालाई खेलकुदको क्षेत्रमा स्थापित गराउन धावक हरिबहादुर रोकायाले बनाएको पहिचानलाई नयाँ पुस्ताले निरन्तरता दिनुपर्ने बताए।
जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले जुम्लाले भाषा, साहित्यसँगै खेलकुद क्षेत्रमा पनि देशलाई प्रतिभावान खेलाडी दिन सक्ने सम्भावना रहेको बताए। तीनै तहका सरकारबाट अपेक्षाकृत लगानी र सहयोग हुन नसक्दा खेल क्षेत्रले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले खेलाडीले आफ्नो प्रतिभा र मेहनतमार्फत जिल्ला, प्रदेश हुँदै देशकै नाम उँचो बनाउन सक्ने बताए। जुम्लाबाट हरेक विधामा उत्कृष्ट, योग्य र दक्ष खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा पठाउनुपर्नेमा उनले जोड दिए।
मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ। जुम्लामा सुरु भएको छनोट प्रतियोगिताले राष्ट्रिय मञ्चमा जिल्लाको खेलकुद क्षमता प्रस्तुत गर्ने खेलाडी छान्ने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः   २०८३ असोज २० at 5:08 pm 

  • कमेन्ट (Comment)