जेनजी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न २४ अगुवाको माग

गत वर्ष भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा नागरिक अगुवा तथा अधिकारकर्मीहरूले घटनासम्बन्धी छानबिन प्रतिवेदनहरू तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
२४ जना नागरिक अगुवाहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही, प्रतिवेदन सार्वजनिक र १० बुँदे सम्झौता कार्यान्वयनको माग गरेका हुन्।

सुशासनको स्थापना, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले आन्दोलन गरेको थियो। राज्यको दमनका कारण भाद्र २३ गते १९ जना र दुई दिनको घटनामा कुल ७६ जना नेपाली नागरिकको ज्यान गएको विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनका क्रममा ८५ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको र पुनर्निर्माणका लागि ३६ अर्ब लाग्ने सरकारी अनुमान रहेको कुरा विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा जेनजी आन्दोलनका घाइतेहरूको उचित उपचारको व्यवस्था मिलाउनुपर्ने, आन्दोलन दबाउन संलग्न तत्कालीन सरकार र सुरक्षा निकायका अधिकारीहरूमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने, भाद्र २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनलगायतका संरचनामा भएको लुटपाट र आगजनीमा संलग्नलाई कानुनको दायरामा ल्याउनुपर्ने मागहरू उल्लेख गरिएको छ ।

प्रकाशित मितिः   २०८३ भाद्र २३ at 1:01 pm 

  • कमेन्ट (Comment)