रास्वपा सांसदको विपक्षीमाथि आरोप- भारतको नुन खाएको भाषा बोलेको हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुरेन्द्र चौधरीले सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर निरन्तर संसद्‍मा प्रश्न उठिरहेकोप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले जुन कुरालाई मेजर गर्न सकिँदैन त्यो कुरामा प्रश्न नगर्न विपक्षी दलहरूलाई चेतावनी दिए ।

सम्बोधनको सुरुमै उनले भनेका छन्, ‘विगत दुई महिनादेखि जसरी सत्तापक्षका बेन्चहरू र प्रतिपक्ष बेन्चभित्र जुन किसिमले प्रधानमन्त्रीको एउटा अभिव्यक्तिलाई लिएर दुई/दुई महिनासम्म संसद्‍लाई अवरुद्ध गर्ने र आक्षेपहरू लगाउने भइसकेपछि मलाई केही कुरा राख्न मन लाग्यो ।’

अनि सीमाको विषय सेन्सेटिभ विषय रहेको भन्दै यसमा प्रतिपक्ष पनि जिम्मेवार बन्नुपर्ने आग्रह गरे ।

‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिको कुरालाई लिएर उहाँहरू (प्रतिपक्षका सांसदहरू) ले दुइटा शब्दमा सत्तापक्षको बेन्चमाथि आक्षेप लगाउनु भएको छ,’ चौधरीले भने, ‘मलाई लाग्छ त्यो अत्यन्त सेन्सेटिभ कुराहरू हुन् । निरन्तर त्यही कुरा संसद्‍ भित्र उठाइराख्दा त्यसले राष्ट्रलाई, देशलाई, राज्यलाई के फाइदा गर्छ ? भन्ने एकपटक सोचौं ।’

यहाँनेर उनले प्रतिपक्षका सांसदहरूले कस्ता प्रश्न गरिरहेका छन् भनेर स्मरण गराए ।
‘त्यही कुरा (प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्ति) लाई लिएर निरन्तर प्रश्न गरिराख्नुभएको छ । त्यतिले नपुगेर उहाँहरू (प्रतिपक्षका सांसदहरू) ले तपाईंहरू (सत्तापक्षका सांसदहरू) राष्ट्रवादी हो कि होइन ? भन्नुहुन्छ । तपाईंहरूको सार्वभौमिकता के हो ? भन्नुहुन्छ,’ चौधरीले विपक्षीका प्रश्नप्रति असन्तुष्टि जनाए ।
अनि यस्ता प्रश्न नगर्न उनले चेतावनी दिए ।
‘सभामुख महोदय म भन्न चाहन्छु, जुन कुरालाई मेजर गर्न सकिँदैन् त्यो कुरामा प्रश्न नगर्नुस्,’ सांसद चौधरीको प्रश्न छ, ‘तपाईंहरूले देख्नुभएको छ कहिले राष्ट्रवाद, देशभक्ति त्यसको रंग कस्तो छ ? त्यसको आकार कस्तो हुन्छ ? या सावैभौमिकताको रंग कस्तो हुन्छ ?’
जुन कुरालाई मेजर गर्न सकिँदैन् त्यो कुरामा एकैचोटी प्रहार गर्न नहुने उनको आग्रह छ । यो आफ्नो निवेदन रहेको भन्दै उनले थपे, ‘यस्ता कुराहरू संसद्‍मा नउठाइयोस् ।’
१७ जेठमा प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यस क्रममा उनले भारतसँगको सीमा विवादबारे बोलेका थिए ।
लिपुलेक–लिम्पियाधुरासम्बन्धी विषयमा नेपाल सरकारले अफिसियल रूपमा भारत सरकारलाई नोट पठाएको र त्यसको जवाफ प्राप्त भएको विषय प्रधानमन्त्री बालेनले बताएका थिए ।
‘यससम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं,’ बालेनले भनेका थिए, ‘उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।’
साथै, नेपालको तर्फबाट समेत भारतीय भूमि प्रयोग भएको भन्ने विषय उठाएका थिए ।
‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,’ प्रधानमन्त्री बालेनले भनेका थिए, ‘त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौं, उहाँहरूले मिच्नु भएको छ । के छ ? त्यसलाई बसेर एउटा साथीको रूपमा समाधान गर्ने हामीले सोच राखेका छौं ।’
यी दुवै विषय विपक्षी दलहरूले तथ्य खोज्दै आएका छन् । गलत भए माफी माग्नुपर्ने र संसदीय रेकर्डबाट हटाउनुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मितिः   २०८३ साउन २२ at 7:54 pm 

  • कमेन्ट (Comment)