तरुण दल जुम्लाको नेतृत्व चयन: केन्द्रबाट बुढथापाको नेतृत्वलाई औपचारिक मान्यता

नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला अधिवेशनमा उत्पन्न विवाद अन्ततः १२ दिनपछि केन्द्रको आधिकारिक निर्णय आएको छ। नेपाली कांग्रेसभित्रका दुई धारबीचको मतभेदलाई अन्त्य गर्दै केन्द्रले हेम बुढथापाको अध्यक्षतामा निर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा अनुमोदन गरेको छ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले बुधबार अनुमोदन पत्र पठाउँदै बुढथापाको नेतृत्वलाई वैधानिक मान्यता दिएका हुन्। पत्रमा सर्वसम्मत ढंगले निर्वाचित कार्यसमिति, केन्द्रीय पार्षद र महाधिवेशन प्रतिनिधिहरूको अनुमोदन गरिएको उल्लेख छ। साथै, सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको छ।

अधिवेशनमा सर्वसम्मत अध्यक्ष घोषणा भएपनि कांग्रेसभित्रको एक समुह र शेरबहादुर देउवा समूहबीच मतभेद चर्केको थियो। स्थिति यति गहिरिएको थियो कि एक समूहले संजिव रावलको नेतृत्वमा समानान्तर समिति समेत घोषणा गरेको थियो।

तर, केन्द्रको औपचारिक अनुमोदनसँगै विवाद साम्य भएको छ। अध्यक्ष बुढथापाले विवाद टुंगिएकोमा सन्तोष व्यक्त गर्दै सबै असन्तुष्ट पक्षलाई समेटेर लैजाने अठोट व्यक्त गरेका छन्। उनका अनुसार, “चुनाव नभएको परम्परामा परिवर्तन ल्याउँदै सहमतिको बाटो अपनाउनु जरूरी थियो। अबको नेतृत्वले संगठन पुनःजागरणमा योगदान पुर्याउनेछ।”

उनले संयम, समावेशिता र संवादमार्फत संगठनभित्र एकताको सन्देश प्रवाह गर्ने बताए। नयाँ कार्यसमितिले कांग्रेसको सांगठनिक बलियोपनका लागि सक्रिय भूमिका निर्वाह गर्ने जनाएका छन्।

प्रकाशित मितिः   २०८२ साउन २१ at 6:46 pm 

  • कमेन्ट (Comment)