
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै जाँदा शेखर कोइराला निकट मानिने स्थानीय तहका जनप्रतिनिधिहरू पार्टी सभापति गगन थापालाई भेट्न पुगेका छन्। पार्टीभित्रको इतर समूहमा सक्रिय रहँदै आएका जनप्रतिनिधिहरूले पछिल्लो समय कांग्रेसको आन्तरिक विवादले स्थानीय तहसम्म असर पारेको भन्दै पार्टी एकताका लागि नेतृत्वमाथि दबाब बढाएका हुन् ।
नगरपालिका राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष भीम ढुंगाना र हिमा गाउँपालिका जुम्लाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण शाहीको सहित तिलागुफा नगरपालिकाका प्रमुख शंकर उपाध्याय नेतृत्वमा जनप्रतिनिधिहरूको टोलीले सभापति थापालाई भेटेर पार्टीभित्रको विवाद तत्काल अन्त्य गरी एकता कायम गर्न आग्रह गरेको हो ।
शेखर कोइराला निकट मानिने जनप्रतिनिधिहरू नै सभापति थापासँग भेट्न पुगेपछि कांग्रेसभित्र उनीहरूलाई पछिल्लो राजनीतिक समीकरणमा संकट आइपरेको चर्चा हुन थालेको छ। कोइराला स्थापनइतर समूहमा लागेका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी विभाजन वा गुटगत विवादको असर आफ्नो राजनीतिक भविष्य र स्थानीय तहसम्म परेको महसुस गरेपछि नेतृत्वसँग समन्वय बढाउन थालेको कांग्रेस वृत्तमा चर्चा छ ।
भेटका क्रममा सभापति थापाले पार्टीभित्रको मतभेद र बहसलाई थप चर्काउनेभन्दा घटाउँदै सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए। पार्टी एकताको प्रयास सहमतिउन्मुख रहेको बताउँदै उनले वर्तमान चुनौती सामना गर्न कांग्रेसभित्र एकता अपरिहार्य रहेको बताएका थिए ।










कनका खबर । २०८३ साउन १०